नेपाली सेनाले आज २६२औं सेना दिवस मनाएको छ।
बुधबार काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहकाबीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेर सेना दिवस मनाएकाे हाे।
उक्त अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्रीहरूकाे उपस्थिती रहेकाे थियाे।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेपालमा राजतन्त्र सम्भव नभएकाे बताएका छन्।
बुधबार प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले देशमा राजा फर्किनु सम्भव नभएकाे बताएका हुन्।
त्यसैगरी उनले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाईप्रति आफूले कुनै महत्त्व नदिएकाे पनि बताएका थिए।
000
सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको खुलेको छ।
सिरहाको नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिकताको लागि सिफारिस दिएको खुलेको हो।
वडाध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा-आमा खडा गरी मियाँलाई नागरिकता दिएको स्थानीयवासीको भनाइ छ।
000
काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन्।
विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन्।
उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुङ्ग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ।
000
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको बताएका हुन्।
त्यस्तै एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको पौडेलको भनाइ थियो।
000
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्।
भेटका अवसरमा राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताएकी थिइन्।
000
आप्रवासीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’को अफर घोषणा गरेका छन्। यसको मूल्य लगभग ७० करोड नेपाली रुपैयाँ अर्थात् ५० लाख अमेरिकी डलर पर्छ।
यो भनेको एकप्रकारको अमेरिकी भीसा हो। जसबाट तत्कालै अमेरिकी नागरिकता पाउन सजिलो हुनेछ।
ट्रम्पका अनुसार आगामी दुई साताभित्र कार्डको बिक्री सुरु हुनेछ।
000
पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ।
000
बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छिन्। नेपाली युवक वृशांक खनालसँग विवाह गरेर उनी नेपालकी बुहारी बनेकी हुन्।
लामो समयदेखि अमेरिकामा बस्दैआएका उनीहरूले मंगलबार विवाह गरेका थिए। उनीहरूलाई मनीषा कोइराला, वरुण धवनसहितका बलिउड सेलिब्रेटीले बधाई दिएका थिए।