वर्तमान सत्ता गठबन्धनका प्रमुख दुई दल एमाले-कांग्रेसका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजेका लागि बैठक बोलाइएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
संयन्त्रको आजको बैठक अध्यादेश पारितमा देखिएको सकस समाधानका विषयमा केन्द्रीत हुने बताइएको छ।
कांग्रेस-एमाले गठबन्धन बन्ने बेलामा ७ बुँदे सहमति भएको थियो। ती सहमति कार्यान्वयन र सरकार सञ्चालनका क्रममा देखिने समस्या समाधानका लागि ओली र देउवाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको थियो।
संयन्त्रको कार्यदलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सदस्य छन्। एमालेको तर्फबाट भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्।
गठबन्धन सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन-२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो।
सरकारले गत १८ माघमा सुरु संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशहरू पेस गरेको थियो।
बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो।
प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारले अन्तिम समयमा आएर कार्यसूचीबाटै उक्त विषय हटाएको थियो।
६० दिनभित्र संघीय संसदबाट प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिले अनुमोदन नगरे कानूनी रिक्तता हुन्छ कि भन्ने दबाबमा सरकार छ।