सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक प्रसारण संस्था सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रुपमा विकास भएको बताएका छन्।
मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन्।
‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरूले गरेको हो तर पछिल्लो समय सार्वजनिक प्रसारण संस्था यसको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकसित भए,' उनले भने।
पहिले छुट्टाछुट्टै रुपमा सञ्चालित रेडियाे नेपाल र नेपाल टेलिभिजन अबदेखि सार्वजनिक सेवा प्रसारण (पिएसबी) मोडलबाट सञ्चालित हुनेछन्।
यस्तै मन्त्री गुरुङलेपिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
उनले अरु मिडियाले झै नाफा कमाउने नभइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए।
त्यसैगरी कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा बिषेश ध्यान दिन आग्रह गरिन्।
संस्थाका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपद्को सारथी र समृद्ध राष्ट्र निर्माणको सम्वाहकको रुपमा रहने बताए।
उनले पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माण, विपद्को सारथीका साथै समृद्धिको आयम रहने पनि बताए।