भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७औँ वार्षिक साधरणसभामा बोल्दै उनले अब सहकारी चाहिँदैन भन्नेहरुलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुश गराउनेगरी काम गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले सहकारीहरु एउटै खाले हुन्। सहकारी ठिक छैनन्। अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ। तिनीहरुलाई चुनौती दिनको लागि र सहकारी ठिक छन्, वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो। किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं। अनि व्यवसाय निर्माण गछौं। त्यसकारण हामी सहकारीमा फिजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ।’
उनले सरकारले विभिन्न संघ संस्थाहरु र सहकारीलाई अपेक्षा गरेअनुसारको सहयोग गर्न नसकेको बताए। सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरु अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ। त्यो हुन सकेको छैन। त्यसैले सरकारको मुख ताक्ने मात्र होइन, हामी सवल भएको छौँ। हामीले पनि पहल गर्नुपर्छ।’
उनले ऐन कानुनहरु पूरानै हुँदा पुराना कानुनहरुले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे। त्यस्तै उनले भूमीहिन जनताहरुलाई सरकारले वास्तबिक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताए।