पानी ट्यांकी छ। घर-घरमा धारा पनि जाेडिएकाे छ। तर धारामा पानी छैन। बरू धारा खियाले खाएकाे छ। कतै भत्किएकाे छ।
धारा बनाएकाे २ वर्ष बढी भइसक्याे। २ वर्ष भन्दा बढी समयसम्म पनि धारामा पानी नचुहिएपछि सिराहाकाे गोलबजार नगरपालिका वडा नं. १ भुल्के गाउँ काकाकुल अवस्थामा छ। भुल्के गाउँका २० घर दलित परिवारसहित झण्डै ८० घरधुरी पानी जाेहाे गर्न निकै कठिन अवस्थाबाट गुज्रनु परेकाे छ।
आर्थिक वर्ष २०७९/०८० मै हाे, भुल्के गाउँमा ४० लाख रकम खर्चेर बोरिङ्ग जडान गरिएकाे। साथै पानी ट्यांकी निर्माण र करिब ८० वटा धारा जडान पनि गरिएकाे थियाे।
धारा जाेडिएपछि स्थानीय जनतालाई धारा निर्माण गर्ने ठेकेदार, जनप्रतिनिधिले भनेका थिए–‘अब एक-दुई महिनामा थ्री फेज बिजुली (माेटर चल्ने बिजुली जाेड्ने) ल्याएर पानी वितरण गरिन्छ।’
एक-दुई महिना भनिएकाे साढे २ वर्ष भयाे। तर धारामा पानी भने आएकाे छैन। धारामा पानी झर्ला र गाग्री भरी थापौँला भन्ने आशमा रहेकी ६० वर्षिया विन्दी विक भन्छिन्,‘अब यो जन्ममा हुँदैन होला। धाराको पानी नखाई मरिन्छ होला।’
स्थानीय ७५ वर्षका कमान सिंह भन्छन्,‘खोई के विकास आयो आयो। हेरेर चित्त बुझाउनु परेको छ। बोरिङ्ग चलाउँदा त लतत्त हिलो पो आयो। पानी आएन। तीन वर्ष भयो पानी कुरेको अझै झरेको छैन।’
२०७९ सालमा पहिलेका मेयर देवनाथ साहलाई पराजीत गर्दै मेयरमा श्यामकुमार श्रेष्ठले बाजी मारेका थिए। उनी गोलबजार नगरपालिकाको मेयर भएपछि भुल्केका जनताको मन रसाएको थियो।
अब चाँडै शुद्ध खानेपानीले घाँटी भिजाउला भन्ने आशमा बसेका भुल्केबासी जनता त्यतिबेला झन् उत्साही भए जब नगरपालिकाले पानी ट्यांकी निर्माण र बोरिङ्ग जडान सुरु गरायो र ‘एक घर, एक धारा’को काम गर्याे।
तर त्यसरी निर्माण गरिएकाे धारामा अहिले खिया लागि सकेकाे छ। कतै धाराहरू बोराले छोपेर राखिएको छ। कतै टुटफुट भएको छ। पानी ट्यांकी ठिङ्ग उभिएको छ।
किन धारामा पानी आएन? यसकाे जिम्मेवार मेयर श्यामकुमारका छाेरा सुमित श्रेष्ठ छन्। खानेपानी उपभोक्ता समितिका अध्यक्ष फूलमाया विक भन्छिन्,‘आर्थिक वर्ष २०७९/०८० मा मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले खानेपानी ट्यांकी निर्माण र बोरिङ्ग जडान कार्य गराएका थिए। नामको लागि उपभोक्ता समिति निर्माण गरेर मेयर पुत्रले यो आयोजना आफ्नो हातमा लिएका थिए। उतिबेलै बोरिङ्ग जडान असफल भएको थियो तर सफल भनेर भुक्तानी निकालियो। खानेपानी आयोजना भने अझैसम्म अलपत्र छ।’
खानेपानीको हाहाकार भोगिरहेका भुल्केका जनताले विगत अढाई वर्षमा दर्जनौँ पटक मेयर श्रेष्ठलाई भेटेर नयाँ बोरिङ्ग जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याउन भनेका छन्। तर उनीहरूकाे कुरा सुनाइ भएकाे छैन।
स्थानीय महेन्द्र यादव भन्छन्,‘मेयर श्रेष्ठलाई भेट्न जाँदा उनले अहिले तुरुन्तै दुई मिनेटमा काम सुरु गराइहाल्छु झैं गर्छन्। अनेक तडकभडक देखाउँछन्। हाकिमलाई इन्जिनियरलाई फोन गर्छन्। तर हामी फर्केपछि जस्ताको त्यस्तै।’
नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह भन्छन्,‘दुर्योधन जस्ता चरित्रका पुत्रको वशिकरणमा परेका धृतराष्ट्र पिताको कमिशन मोहको परिणाम हो भुल्केको खानेपानी योजना। त्यतिबेला नै बोरिङ्ग असफल भएको थाहा भएकै हो। तर भुक्तानी निकाल्न बोरिङ्ग सफल भएको नौटंकी गरियो। पुत्रको व्यापार चलाउन भुल्केका जनताको कण्ठ सुकाइयो।’
वडा नं. १ का नेपाली कांग्रेसका नेता शरदराजा शाहीले मेयरकाे उदासिनताले भुल्के गाउँ खानेपानीकाे हाहाकारमा बस्नु परेकाे बताउँछन्।
‘२१ सौं शताब्दी अर्थात प्रविधिको युग। बजारमा पतालको पानी तानेर पहाडमाथि चढाइदिने समरसेवल मोटर उपलब्ध छ। गाउँमा बिजुली पनि पुगेको छ। बोरिङ्ग जडान गर्ने ठूला मेसिनहरू पनि बग्रेल्ती उपलब्ध छन्। शासन सत्ता इमान्दार हुने हो भने अब कुनै गाउँमा खानेपानीको हाहाकारको अवस्था रहँदैन’, उनले भने ‘तर गोलबजार नगरपालिकाका शासकको पहिलो अभिष्ट विकास होइन। प्रथम प्राथमिकता कमिशनखोरी हो। त्यसकारण यो अवस्था आइलागेको हो। घर घरमा धारा छ तर खानेपानी छैन्।’ -नेपाल न्यूज बैंक