इट्टा उद्योगका मजदुरकाे दुःख- काममा धेरै खट्नुपर्छ, भनेजति पारिश्रमिक छैन

Break n Links
Break n Links

काठमाडौँ उपत्याकाभित्रका इट्टा उद्योगहरुमा इट्टा निर्माणको काम सुरु भएको छ। यही माघ १ गतेदेखि भट्टाहरुमा इट्टा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ।

इट्टा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन्। तर जोखिमपूर्ण मानिने इट्टा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन्। जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन्।

काभ्रेबाट आएका शिवबहादुर तामाङ ६ वर्षदेखि इट्टा बनाउँदै आएपनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए।

‘मैले इट्टा बनाउन थालेको ६ वर्ष भयो। पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ। पहिला आफैले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो। अहिले मेसिनहरुका कारण केही सहज भएको छ,’ उनले भने, ‘तर इट्टा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन। हजार वटा इट्टा बनाएको १२ सय ५० आउँछ। दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ। बिहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन।’

शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ। उनले भने, ‘काम गरेको पूरै पैसा काम सकिएपछि वैशाखतिर मात्र आउँछ। जति धेरै इट्टा बनायो, उत्ति पैसा आउँछ। डेढ लाख जति बनायो भने एक लाख ७५ हजार रुपैयाँ आउँछ। दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ। दुःख गरे अनुसार यो पैसा थोरै नै हो।’

अन्यत्र रोजगारी नभएका बेला इट्टा बनाउने कामले आफूहरुलाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ। ‘अन्त काम छैन। सिजनका बेलामा अलिअलि भएनी कमाई हुन्छ। बालबच्चा पाल्नुपर्यो। आफूले पनि खानैपर्यो। सिजनका बेला भट्टामा आउँछु। भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उनले भने।

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए। इट्टा व्यवसायबाट साहूहरुलाई पनि समस्या नै भएको उनको भनाइ छ।

‘हुन त साहूहरुलाई पनि धेरै गाह्राे होला। जग्गाको भाडा तिर्नुपर्यो, माटो किन्नुपर्यो, इट्टा बनाउने र बोक्नेहरुलाई पैसा दिनैपर्यो,’ उनले भने, ‘तर हाम्रो श्रमअनुसारको पारिश्रमिक न्यून हो। कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौँ। हामीलाई घाटा छ। एक बोरा चामलको २५ सय पर्छ। सबै खाद्य सामग्री महंगो छ।’

यता, इट्टा उद्योगीहरुका आफ्नैखाले समस्याहरु छन्। धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाई छ। 

‘उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ। शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरुलाई इट्टा उद्योगले रोजगारी दिलाएको छ। रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने, ‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा वृद्धि भएको छ। ३० हजार कामदारले रोजगारी पाएका छन्। एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैयाँसम्म मजदुरहरुलाई वितरण गरेको रेकर्ड छ।’

जति संख्यामा इट्टा बनाए उति नै पारिश्रमिक दिने गरेको उनले बताए। श्रीमान–श्रीमती नै मजदुरी गर्नेहरुले दिनमै ३६ सय रुपैयाँसम्म वितरण गरेको उनले सुनाए।

इट्टाको मूल्य निर्धारण इट्टाको गुणस्तर अनुसार हुने गरेको उनले बताए। तर इट्टा स्टक बस्दा व्यवसायीहरु मारमा परेको उनको भनाइ छ।

‘इट्टा चारपाँच वर्षदेखि नै स्टक बसिरहेको छ। तर मजुदुरलाई दिनुपर्ने सेवा सुविधा दिनैपर्छ। दुर्घटना बिमा भनेर ६ महिनाको एकमुष्ठ बिमा कम्पनीलाई पैसा बुझाएका छौँ। मजुदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौँ। मजदुरहरुलाई पहिलेको जस्तो छैन। धेरै परिवर्तनहरु आएको छ। अहिले माटो मुस्नु पर्दैन। खन्नु पर्दैन। पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पर्थ्याे। अहिले सबै ठिक बनाएर ल्याइदिन्छौँ। हिलो बनाएर इट्टा पार्न ठिक्क पार्दिन्छौँ। त्यसलाई इट्टा बनाउने मात्र काम हो,’ उनले भने, ‘परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ।’

अध्यक्ष ह्योम्वाले इट्टा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरुलाई मार परेको बताए। उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरु मारमा परेको उनले सुनाए। तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उनले बताए। 

प्रकाशित मिति: : 2024-12-29 12:03:00

प्रतिकृया दिनुहोस्