सिद्धार्थ बैंकले जग्गा लिलामी गरिदिएपछि जनकपुरमा प्रदर्शन, बैंकका २ कर्मचारी प्रहरी नियन्त्रणमा

जनकपुरमा सिद्धार्थ बैंकले एक ऋणीको जग्गा लिलामी गरिदिएपछि प्रदर्शन भएको छ। स्थानीयले बैंक क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले बैंकका २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

धनकपुरधामस्थित सिद्धार्थ बैंकका शाखा प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीले उनीहरु दुई जनालाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको बताए। 

दिनेश राय कुर्मीको जग्गा बैंकले लिलामी गरिदिएको थियो। बैंकमा लोन बुझाउन जाँदा आज जग्गा लिलामी भएको थाहा पाएपछि कुर्मीसहित स्थानीय त्यस प्रदर्शन गरेका थिए। 

जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचालन गर्दै आइरहेका कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको व्यापारिक लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए।

उक्त लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बिचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको उनले बताएका छन्।

उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्यसंघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए। त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने नत्र फिर्ता नहुने बैंकले भनेपछि प्रदर्शन भएको बुझिएको छ। 
 

प्रकाशित मिति: : 2024-12-26 21:07:00

प्रतिकृया दिनुहोस्