राज्यसत्ता चलाउनेहरूबाट जनयुद्धमाथि हमला गर्ने काम भएको छ: विप्लव

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढंडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गरेका छन्। उनले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै व्यङ्ग्य गरे।

बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले हाल नेपालमा विविध किसिमका पात्रहरुले चर्चा कमाइरहेको बताए।

उनले भने, ‘आज नेपाल कस्तो ठाउँमा छ भन्दा अलिकति उदेक लाग्दो, अनौठो अनि रमाइलो जस्तो देखिन्छ। ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो आज नेपाल पुग्या छ।’

उनले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट व्यक्त गरे।

उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरुले पगरी गुथेका छन्। कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन्।’

महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरु सक्रिय रहेको संकेत गरेका छन्। उनले अगाडि भने, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ। कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन्। कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन्।’

प्रकाशित मिति: : 2024-12-26 17:41:00

प्रतिकृया दिनुहोस्