‘जमिन मुनिबाट सुन निकालिदिन्छु’ भनी २ करोड ठगी, भारतीय नागरिक पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतकाे उत्तर प्रदेश, बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन्।

हलवाईले बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका नसिर अहमद बेहेनालाई ईट्टाभट्टामा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भनी विश्वास दिलाएर दुई करोड ठगी गरेकाे प्रहरीले जनाएकाे छ।

बेहेनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएपछि सदाबुद्दिनलाई गत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित बसपार्कबाट पक्राउ गरिएकाे हाे।

सदाबुद्दिनकाे साथबाट तीन वटा माटोको घैटो र ती घैटामा १०४९ थान पहेलो धातुले बनेका सिक्का, तीन वटा पितलको घैटो, धातुले बनेको पुरानो जस्तो देखिने चेन १ थान, धातुबाट बनेको गणेशको मूर्ति १ थान, विभिन्न आकारका पत्तर ६०० थान, धातुबाट बनेका डिव्वा ३ थान,  लेदरको कालो झोलाभित्र ताविजसहितको डिव्वा १ थान,  उर्दू अक्षरमा लेखिएको किताब १ थान, भारतीय नम्बर प्लेटको सिल्भर कलरको कार १ थान र नेपाल र भारतीय बैंकका चेक तथा भौचहरू बराम भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार सदाबुद्दिनमाथि जिल्ला अदालत बाँकेबाट दिन ४ म्याद थप लिई थप अनुसन्धान बढाइएको छ।

प्रकाशित मिति: : 2024-12-24 18:03:00

प्रतिकृया दिनुहोस्