सुदूरपश्चिमसँग कर्णाली पराजित, प्लेअफ समीकरण पूरा

Break n Links
Break n Links

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ।

सोमबार एनपिएलको लिग चरणको खेलको समाप्तीसँगै प्लेअफ समीकरण पूरा भएको हाे।

लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोयाल्सले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समीकरण तय भएको हो।

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिमले शीर्ष स्थानमा पुगेको छ। जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन्। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो। समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो।

सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ।

लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए।

एनपिएलको प्लेअफको पहिलो खेलमा बुधबार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ। यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउने छ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन्।

बुधबार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ। प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ। पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ।

पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन्। पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउने अर्को मौका पाउने छ। पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ।

दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ। पहिलो संस्करणको एनपिएलको फाइनल खेल आगामी शनिबार मध्यान्ह १२ बजे हुनेछ।

प्रकाशित मिति: : 2024-12-16 12:13:00

प्रतिकृया दिनुहोस्