बलियो जनकपुरविरुद्ध चितवनको जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ। शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो।

चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो। जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए। 

उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। प्रतियोगिताको पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरेका थिए। प्रतियोगितामा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो। यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए।

आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए। शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए। 

बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल खेल जनकपुरको पक्षमा गएको थियो। तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशम सहित २ विकेट लिए पछि जनकपुर हार तर्फ पुग्यो।

चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो। चितवनका लागि कप्तान कुशलले ७२ रन जोडेका थिए। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए।

उनी जिमी निशमको बलमा आउट भए। प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे। १७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए। जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए। त्यस समयमा कुशलले ५४ रन जोडेका थिए।

मोहसिनको तेह्रौं ओभरमा चितवनका कप्तान कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए। त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कप्तान मल्लले २० रन प्रहार गरे। सुरुवाती ११ बलमा ७ रन बनाएका कप्तान कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे।

कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए। प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो। बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे। बोपारा ललित राजवंशकिो बलमा आउट भए।

ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए। इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए। सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे।

जनकपुका लागि ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए। लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ। पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो।

आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ। प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ।

चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन्। चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ। एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको दुवै खेल जितेपनि ६ अंक मात्र हुनेछ। र, उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन्।

प्रकाशित मिति: : 2024-12-14 16:38:00

प्रतिकृया दिनुहोस्