राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ।
पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले बुधबार प्रदर्शन गरेकाे हाे।
पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकेर लामिछानेलाई वीरगञ्जबाट काठमाडाैँ हुँदै बुद्ध एयरको जहाजमार्फत पोखरा पुर्याइएकाे थियाे।
रविलाई पोखरा लैजानु अघिदेखि नै पृथ्वीचोकमा रास्वपाले प्रर्दशन गरेकाे हाे। प्रदर्शनका क्रममा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल भएको छ। उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, मानव अधिकार उल्लंघन गर्न पाइँदैन’लगायतका नाराहरू लगाएका छन्।
लामिछानेमाथि सानो पाइला सहकारीसँगै बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।
उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा भइरहेकाे छ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।