ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काकाे दबाबमा बक्याैता नबुझाउने उद्योगमा लाइन नकाट्ने निर्णय भएकाे छ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिकाे बुधबारकाे बैठकमा समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री खड्काकाे दबाबपछि बक्याैता नबुझाउने उद्योगमा लाइन नकाट्ने निर्णय भएकाे हाे।
सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्य बक्याैता नबुझाउने उद्योगमा लाइन नकाट्ने निर्णय गर्न नहुने पक्षमा रहेपनि खड्काकाे दबाबपछि भने समितिको बैठकले हाललाई लाइन नकाट्ने निर्णय गरेको एक सदस्यले बताए।
ऊर्जामन्त्री खड्काले मंगलबार विद्युत नियमन आयाेगकाे निर्देशनअनुसार लाइन काट्न नहुने निर्णय गर्नुपर्ने बताएका थिए।
मंगलबार आयोगले विद्युत प्राधिकरणलाई हाल डेडिकेटेड–ट्रंकलाइन विवादका सम्बन्धमा सरकारद्वारा गठित समितिले काम सुरु गरेकाले हाललाई लाइन नकाट्न निर्देश गरेकाे थियो।
सोही निर्देशनअनुसार आज सञ्चालक समितिले पनि समितिले प्रतिवेदन नबुझाएसम्म लाइन नकाट्ने निर्णय गरेकाे छ। यद्यपि नेशनल कलेज अफ इन्जिनियरिङ्ग ललितपुरका प्रा.डा. रविन्द्रकुमार मिश्रको संयोजकत्वमा गठित समितिले हालसम्म काम सुरु गरेकाे छैन।
समितिले कसरी काम अगाडि बढाउने भन्ने निर्क्याैल नगरेकाले प्रतिवेदन बुझाउनेमै प्रश्न उठ्दा बक्याैता नउठ्ने अवस्था सृजना भएकाे छ। समितिलाई यति समयभित्र प्रतिवेदन बुझाउन सरकारले समयसीमा नताेकेकाले बक्याैता उठाउन अवराेध सृजना भएकाे हाे।