आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो? भन्दै प्रश्न गरेका छन्।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आजबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाएका हुन्।
आजपा अध्यक्ष साहले वर्तमान सरकारका कारण अहिले विश्वसामू नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे।
अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ र ध्वस्त हुदै गईरहेको उनले बताए। ओली सरकारको व्यक्तिगत र निहीत स्वार्थ एवं सोचका कारण यस्तो अवस्था आएको उनले बताए।
‘आज विश्वसामू नेपालको इमेज खस्किँदै गईरहेको छ। यो सरकारको व्यक्तिवादी र निहीत स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो। छिमेकीहरुसँगको हाम्रो सम्बन्ध पनि धराशयी हुँदैछ’, आजपा अध्यक्ष साहले भने, ‘हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ। यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्यौलमा छौं। प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने? यो गम्भीर प्रश्न खडा छ।’
पूर्वमन्त्री साहले मुलुकमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे। देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्यौलपूर्ण अवस्था सिर्जना भएको उनको भनाई रहेको छ।
‘देशमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि दिनानुदिन बढ्दो छ। शान्ति, सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन्। अभिव्यक्ति स्वतन्त्रताको अधिकार यतिवेला मजाक बनेको छ’, साहले भने, ‘अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाईएको छ। सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने?’
सरकारको नेतृत्वमा बसेका दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) कानुनभन्दा माथि बन्न खोजेको आरोप उनले लगाए। कानुनको कार्यान्वयन गर्ने ठाउँमा पुगेका प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी एमालेले कानुन अनुसार काठमाडौं महानगरले जरिवाना गर्दा नतिर्ने उदघोष गर्नुले कानुन कसरी कार्यान्वयन हुने भन्दै उनले प्रश्न उठाएका छन्।
‘अहिले कानुनले एमाले र कांग्रेसलाई छुँदैन्। अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्वपनि ठानेन। काठमाडौं महानगरपालिकाले कानुनअनुसार जरिवाना तोक्दापनि स्विकार्य भएन। किनकी एमाले र कांग्रेस अहिले कानुनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भैरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ। साईबर क्राइम थेग्नुपर्छ। प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानुनी शासनको उपहास हुँदैछ।’
वर्तमान कांग्रेस–एमाले गठनबन्धको सरकारको जग नै अलोकतान्त्रिक भएको उनले टिप्पणी गरे। विगतको आम निर्वाचनमा एकअर्काको प्रतिस्पर्धी रहेका र आफ्नो सरकार बनाउने भनेर जनतासंग मत मागेका दल कांग्रेस र एमालेले जनादेश विपरित गैरलोकतान्त्रिक गठबन्धन बनाएर सरकार गठन गरेको उनले बताए।
‘यो सरकार गैरलोकतान्त्रिक धरातलमा बनेको छ। यो सबै जनतालाई पनि थाहा छ। होइन भने म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु–गत चुनावमा तपाईंले कांग्रेससँग प्रतिष्पर्धा गर्नुभएको थियो। कांग्रेससँग चुनाव लड्नुभएको थियो, तर आज कांग्रेससँग सरकार बनाउनुभयो। कुन नैतिकताले बनाउनुभयो? तपाईं नैतिकवान भएको भए कांग्रेससँग सरकार बन्दैन थियो। कुनैपनि लोकतान्त्रिक देशमा जनादेशविपरित जाने अधिकार हुँदैन्, तर तपाईंले जे पनि गर्न थालिरहनुभएको छ, त्यो अलोकतान्त्रिक छ’, साहले भने।