बिएल संवाददाता
पाँच दशकदेखि लाेकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायक नगद रु. ५१ हजार पुरस्कारसहित सम्मानित भएका छन्।पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया—बलराम सारङ्गी साँझ’मा उनीहरू सम्मानित भएका हुन्।
उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी थिइन्। समाजमा योगदान पुर्याएका भूइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक तथा पत्रकार अमृत भादगाउँलेले बताए। ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौँ’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔँ।’
कार्यक्रममा साहित्यकार सुरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए।
दुई चरणमा गरिएकाे कार्यक्रममा पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तीले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए। पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाएका थिए।
कार्यक्रममा कला, साहित्य, संस्कृति, शिक्षा र पर्यटन क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।
को हुन् टीकामाया र बलराम ?
पोखराको कालिकानगरमा बसोबास गर्दै आएका लोकगायक दम्पत्ती टीकामाया र बलराम दुवैजना ५८ वर्षका भए। दुवैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आएका छन्। सारङ्गीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन्।
भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यतिबेलाको परम्परागत मान्यतालाई तोडेर उनले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गरेकी थिइन्।
सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन्। तीसको दशकमा टीकामायाका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे। उनको स्वरमा पनि तीनवटा गीत रेकर्ड भएका छन्। आजका दिनमा पनि यो दम्पत्ती सारङ्गी बजाउँदै गाउँघर डुल्छ।
दुवैजना १३ वर्षको उमेर हुँदा उनीहरूको पृथ्वीराजमार्गको जक्सन मुगलिनमा भेट भएको थियो। त्यहीँबाट प्रेम अँकुराएपछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए। छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही वर्ष सारङ्गी बजाएका थिए।
उक्त कार्यक्रममा टीकामाया दम्पत्तीका नातीहरू संयोग र संगमले पनि गीत गाएर सुनाएका थिए।
यसरी रैथाने सङ्गीतमार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको सम्वाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ।
स्मरणीय छ, कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ। उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो।
त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौँ पुर्याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो।
उसले मुलुकका स्थापित कवि, लेखक र पत्रकारलाई विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनका काम पनि गर्दै आएको छ। यसै सिलसिलामा खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा घुमाइसकेको छ।
काव्ययात्रामा पनि कला, साहित्य, संस्कृति र सनातनी सिप संरक्षण गर्दै आएका स्थानीय भुइँमान्छेलाई नगदसहित सम्मान गर्ने गरेको छ। विभिन्न मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा कार्यक्रम गरिन्छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
प्रतिक्रिया