नेपालका विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ।
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन्। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ।
सामाजिक सञ्जालहरुमा एमाले नेता डा.राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन्। त्यस्तो चासोहरुमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ। तर कम्बोडियामा कार्यक्रम भने अर्कै छ।
चासोपछि एमाले नेता भट्टराईले सामाजिक सञ्जालमार्फत कम्बोडिया यात्राबारे बताएका छन्। आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२औँ अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन्।
उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन्।
‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२औँ महाधिवेशनमा भाग लिन नेपालका पाँचभन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ?’
एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन्। कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफूसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन्।
उनले अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन। कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत कम्बोडिया यात्राबारे बताएकी छन्।
एसियाका राजनीतिक दलहरुको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन्। उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक सञ्जालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने बताएकी छन्।
‘म मेरो मातृभुमीलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु’, उनले आफ्नो भिडियो सन्देशमा भनेकी छिन्।
कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन्।
यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया पुगेका छन्। अन्य नेताहरू बिहीबार(आज)साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ।
एमाले नेता भट्टराईका अनुसार माओवादी केन्द्रबाट पूर्वसभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कम्बोडिया कार्यक्रमको विवरणमा छ। यस्तै सो दलबाट गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सूचीमा छन्।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट डा.शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ। यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नामसमेत सहभागीको सूचीमा छ। यस्तै जसपाबाट भरत गुरुङको नाम समावेश छ। उनीहरु केही आज कम्बोडिया पुग्दैछन्।
कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ। उद्घाटनपछि डिनर आयोजना गरिएको छ भने भोलि(शुक्रबार) विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ।
कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ।
यस्तै संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। यस्तै फेक न्युज तथा सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समुहगत छलफल हुनेछ।
कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी भएका छन्। प्राप्त सूचनाअनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन्।
एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाट समेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन्। कांग्रेस नेतृ कोइरालाले कार्यक्रमसकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन्।
आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।
यी हुन् कम्बोडिया जानेहरू