म बाल्लुङको गल्कोट नगरपापालिका– ७ मा जन्मेको हुँ। मेरो बाल्यकाल गाउँमा नै बित्यो। १० कक्षासम्म गाउँमा नै पढें। स्कुल पढ्दादेखि नै संगीतमा रुचि राख्थेँ। स्थानीय क्लबहरुमा बसेर चार-पाँच वर्ष सांगीतिक गतिविधिहरु गरेर बिताए। गाउँमा गाउने, नाच्ने र बजाउने व्यक्ति भनेर सबैले चिनेका थिए।
पछि कलेज पढ्न आउँदा धेरै नै संघर्ष गर्नुपर्यो। बाग्लुङ सदरमुकाममा पढ्न आउन खोज्दा बुबाले दिनुभएको थिएन तर आएँ। कारण आर्थिक अवस्था थियो। बुबाले गाउँमै पढ् भन्नुभएको थियो। तर, नमानेर बाग्लुङ आएको हुँ।
बाग्लुङमा संगीत पढ्ने ठाउँ थिएन। त्यसैले पोखरा जाने निधो गरेँ। त्यहाँ पनि खासै राम्रो हुँदैन भनेर साथीहरुले सुझाव दिएपछि २०५७ सालमा काठमाडौं आएको हुँ। काठमाडौं उत्रिएपछि लगातार ०६२–६३ कठोर संघर्ष गरेँ। सोही सिलसिलामा ‘वास्ना’ भन्ने एल्बम निकालेँ। त्यसमा संगीत र संगीत संयोजनको जिम्मेवारी निर्वाह गरेँ। त्यही नै सांगीतिक यात्रामा टेकाउने खुड्किलो भयो।
अहिले ‘पूर्ण बहादुरको सारङ्गी’मा समेटिएको भाइरल गीत ‘रैया चाँदी’ले मलाई थप उत्साहित बनाएको छ। स्रोता–दर्शकहरुले हौसला दिइरहनु भएको छ। दोहोरी फरम्याटमा भएका कारणले मैले पनि नयाँ प्रकारको आभास गरिरहेको छु। लोकगीतलाई माया गर्ने स्रोताहरु अझै फरक एवम पृथक हुने रहेछन् भन्ने कुरा यो गीत बजारमा आइसकेपछि अनुभूत भइरहेको छ। हुन त मैले धेरै लोकगीतहरु गाएको छु। तर, यसबाट स्रोताहरुले मलाई जति माया गरिरहनुभएको छ यसबाट मैले लोक गीतको महत्व कति रहेछ भन्ने थप बुझ्ने र महसुस गर्ने मौका पाइरहेको छु।
हुन त लोक गीतहरुका बारेमा कन्ट्रोभर्सी भइरहेको हुन्छ। यसको बुझाइ र काम गराइका कारण पनि यस्तो हुने गर्छ। कतिपय भाकाहरु अलरेडि रेडियो खोल्दादेखि नै रेकर्डिङ हुन थाले। भाकाहरु बजारमा आइसकेकै हुन्थे। रेडियोमा आएका भाकाहरु यतिबेला पुनःनिर्माण भइरहेका छन्। रिमिक गर्दा गीत फलानोको जस्तो भयो, पहिलाको जस्तो भयो भनेर भन्ने गरिन्छ। केही संगीतका पारखीहरुले र आफूलाई समालोचक भन्न रुचाउनेहरुले बढी नै क्रिटिसाइज गर्दा हाम्रो मौलिकता हराउँदै गइरहेको जस्तो लाग्छ। रैयाँ चाँदीको गीत निकै मैलिक तरिकाले बजारमा आएको हो। लोकदोहोरीको जुन मिटर हुन्छ त्यहीँ मिटरमा गीत आएको हो। भाका नयाँ बनाउँछु भन्दा पनि लोकगीतहरुको पञ्चिङ मर्दै गएको देखिन्छ। लोकगीत भनेको माटोको सुगन्ध हो। यहाँका चराचुरुङगीहरुको चिरबिराट हो। र यहाँको मान्छेहरुका लागि इन्द्रेणी महशुस गर्ने भाका हो। यसमा मौलिकता बढी र कपी भनेर उस्तै त ल्याउन मिलेन नि।
कुनै पनि चिजको एउटा रिफरेन्स दिँदाखेरि अथवा गीतको रिफरेन्स दिनको लागि त कुनै कलखण्डमा पुग्नैपर्छ। त्यो कालखण्डमा कस्ता कस्ता गीतहरु बने त? भन्ने कुरा चाहिँ हुन्छ। यस्तै ‘रैया चाँदी’ जस्तै फ्लेबरमा गीतहरु धेरै छन्। यही फ्लेबरमा यही मिटर र यस्तै पनको गीत बनाउँदा त्यसको सक्कल सबै त्यही गीतसँग मिलेको हुँदैन। जसरी बाबुसँग छोराको अनुहार मिल्छ लगभग त्यसरी नै लोकगीतसँग अन्य लोकगीतको अनुहार मिल्छ। मिलेन भने त्यो बाबुको छोरा नि भएन। र, मिलेन भने त्यो लोकगीत अर्को लोकगीत नै भएन। तर, त्यसको मिटर, उठान, पठान केही मात्रामा मात्र मिलेको हुन्छ। यसरी नजानेका कुराहरुमा धेरै कुरा राख्ने बानीले पुष्टि गर्न गाह्राे छ। त्यसैले कसैलाई सस्तो तरिकाले आरोप लगाउनु राम्रो होइन। नेपालमा अलि आफूले नजानेको विषयमा पनि विचार राख्दा बढी समस्या आउने गरेको छ। चोरको लान्छना त मैले खेपे नि त तर चोरी हो कि होइन,अभियुक्त लगाउन पो सजिलो पुष्टि गर्न त अप्ठ्यारो छ नि। हचुवाको भरमा कसैलाई आरोप लगाउनु सजिलो छ, पुष्टि गर्न गाह्राे पर्छ।
मैले विशेषगरी लोकदोहोरीको पछिल्लो धारको म्युजिक एरेन्जमेन्टलाई एउटा नयाँ आकार दिने गरेको छु। लेखक नवराज पन्तले त्यसै सन्दर्भमा नयाँ भाका बनाएर गाउनका लागि गर्नुभएको आग्रहलाई मैले स्वीकार गरेको हुँ। मलाई चाहिँ त्यति हिम्मत थिएन। लोकदोहोरी फर्क्याटमा त्यति धेरै कम्फर्टेबल थिइन्। मलाई त्यसको अनुभव छैन् जस्तो लाग्छ। उहाँको अनुरोधमै मैले कम्पोज गरेको हुँ। कम्पोज, लय, भाका राम्रो बन्यो भन्ने लाग्यो। एक डेढ वर्ष भयो रैया चाँदीको तयार भएको। यो गीत ४० वर्ष पहिलेको फ्लेबलमा बनाएका हौ। तर, फिल्ममा पनि त्यही नै चाहिएको रहेछ। चार पाँच दिनकै छोटो समयमा गीत तयार भएको हो। मैले पनि रातारात मेहेनत गरें। पहिला पनि बनिसकेको भएर रिसेट गर्नलाई गाह्राे भएन।
गीत तयार हुँदैगर्दा मेलिना राई आएर गाउनुभयो। उहाँले गाइसकेपछि मलाई निकै राम्रो बनेको महसुस भयो। अनि मैले गाएको हुँ। त्यसपछि प्रोडयुसरहरुलाई देखाएपछि थोरै मिलाएर उहाँहरु सुटमा जानुभयो। मलाई त्यसपछि सुटबाट नै फोन आउ थाल्यो। गीत असाध्यै राम्रो बनेछ, भयंकर राम्रो हुन्छ भनेर बधाई दिनुभयो। गीत रिलिज भयो तर हिट नहुँदै धेरैले बधाई दिनुभयो।
स्पेसल सो को दिन, त्यहाँ फिल्म अलि सुस्ताउने हो कि जस्तो महसुस भएको थियो। तर, रैया चाँदीको भाइरल भएपछि हलसम्म फिल्म चल्नुमा यसको प्रमुख कारण छ भन्नुभयो। यो त उहाँको महानता हो। तर, मलाई लाग्छ यसको पनि हात चाहिँ छ। गीतले दर्शकलाई फिल्म हेर्नको लागि केही मात्रामा तानेकै छ। सबै कुरामा पूर्ण बहादुरको सारङ्गी राम्रो छ। क्यारेक्टरहरुमा पनि डुबेरै अभिनय भएको छ। त्यही कारणले पनि मैले सारङ्गीको टिमसँग गीत गाएर हातमा हात मिलाएको महसुस गरेको छु।
हुन त मलाई मेरा हरेक सृजनाहरुको उत्तिकै माया लाग्छ। कुनै चल्छन् कुनै चल्दैनन् त्यो अलग कुरा हो। ‘फूलै फूल दिन्छौं कि’ भन्ने गीत मैले आज भन्दा १२-१५ वर्ष अगाडि शिव परियार दाइको आवाजमा रेकर्ड गराएँ। त्यतिबेला चाईचुई केही चलेन। तर, डेढ वर्ष पहिला भाइरल भयो। त्यसपछि फेरि रिमेक गरेर पनि निकाल्यौं। त्यतिबेला यो त चलेन भनेर हुँदैन्। त्यसैले हरेक सृजना विशेष नै हुन्छन। हरेकका सन्तान विशेष हुन्छन। तर, कोही अलिकति कमजोर पनि जन्मन्छन्। कोही अलि राम्रो पनि जन्मन्छन्। गीत र सन्तान राम्रो नै जन्माउँछु भनेर नहुँदो रहेछ।
तर, यतिबेला गीत रेर्कर्डिङको संख्या घटेको छ। गीत निर्माण प्रक्रिया पनि कम हुँदै गएको छ। तर, गीतमा लगानी धेरै बढ्दै गइरहेको छ। एउटा गीतमा लगानी धेरै हुने भएकाले फिल्ममा पनि धेरै गीतहरु समावेश हुन छाडेका छन्। त्यस्तै अहिले कलाकारहरु पनि औँलामा गन्न सकिनेहरु मात्र राम्रो होलान। धेरैलाई चाहिँ गाह्राे भइरहेको छ। पछिल्लो समयमा एउटा सुखद कुरा के भने जसको गीत चलेको छ त्यो गुणस्तका कारण नै चलेको छ। कसैको गीत हिट भइरहेको छ भने त्यसको शब्द, स्वर, रेकर्डिङ र भिडियो मेकिङका हिसाबले हिट भइरहेको छ।
पहिले पहिले जसको प्रविधिमा र मिडियामा पहुँच थियो त्यसलाई कामहरु बढी आउने हुन्थ्यो। तर हिजोआज समय र परिस्थिति बदलिदै गएको छ। अहिले चलेका गीतहरु सबै राम्रो भए नै चलेका छन्। त्यो चाहिँ सुखद पक्ष हो। यसको मतलब राम्रो कलाकार मात्र अगाडि आउन पाए। जसका कारण संगीतको गुणस्तरलाई राम्रो बनाइरहेको छ। तर, केही कलाकारलाई चाहिँ कठिनाइ भइरहेको र कलाकारहरु पलायन हुने लहर बढेको छ।
चार पाँच वटा गीत गर्दा बल्ल एउटा चल्छ। त्यो सन्तुलन हुन सकेको छैन्। अर्को कुरा हाम्रोमा राम्रो कन्सर्ट हुने, राम्रो कार्यक्रमको आयोजना हुने र कलाकारले राम्रो पारिश्रमिक पाउने वातावरण बनिसकेको छैन। कलाकारहरु वा हिरो–हिरोइन सबैलाई लामो समय चल्न कठिनाइ नै हुन्छ। राम्रो पारिश्रमिक पाउने हो भनेसमयको सेरोफेरोमा उसको राम्रो सेटअप हुन सक्छ।
हाम्रो जस्तो सानो देशमा राज्यको कलाकारहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने विशेष किसिमको नीति हुन आवश्यक छ। किनकि राज्यका जनतालाई कलाकारले मनोरञ्जन त दिएका छन नि। त्यो बापत राज्यले कतिपय सिस्टम बनाउन नसकेको कारण राम्रो पारिश्रमिक पाएको छैन। त्यसैले विशेषगरी राज्यले राम्रो नीति बनाउन जरुरी छ। र कलाकारहरुलाई विशेषखालको व्यवस्था राज्यले गर्न जरुरी छ। ता कि मानिसलाई कलाकारितामा लाग्न हौसला मिलोस्।
मेरो कुरा गर्नुपर्दा विशेषगरी म गायक नै बन्न आएको हुँ। र म अहिले गायककै रुपमा स्थापित भइरहेको छु। दर्शक स्रोताहरुले सायद तैँले गाउनुपर्छ है भनेर नै मलाई बढी प्रोत्साहित गर्नुभएको छ। यसलाई आत्मसाथ गरेर संगीतकर्म गरिरहेको छु। गायक गायिकाहरुको लागि मैले गीत बनाउने कर्म भने जारी नै रहने छ। यद्यपि, मेरो प्रयास अब गायनमै हुनेछ। र, देश विदेशका सोहरुमा देखिने छु।
(चर्चित फिल्म ‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको ‘रैया चाँदीको’गीतका गायक आशिष अविरलसँग गरेको कुराकानीमा आधारित)