पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने, कार्यालय बन्द गर्ने

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रेसले कार्यालयमा झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान आकस्मिक बैठक बसेर १३औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णयसमेत गरेको हो।

ढुंगानाको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ। साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

‘२०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने। २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने। स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने', बैठकमा जारी विज्ञप्तिमा भनिएको छ।

सोमबार र मंगलबार दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताए। साथै मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द रहने र स्वर्गारहणको १३ औँ दिनमा केन्द्रीय कार्यांलयमा शोक सभाको आयोजना गरिने समेत उनले बताए।

यस्तो छ ढुङ्गानाको निधनप्रति शोक प्रस्ताव

१. पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्महात र स्तब्ध भएको छ।

२. नेपालमा लोकतान्त्रीत व्यव्स्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुगंना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं २ बाट विजयी भइ २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो। विसं २०५१ मा काठमाडौं क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र २ मा कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो।

३.नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

४. माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रकृयामा ल्याउन सहजकर्ताको रुपमा उहाँको सक्रिय भूमिका रहेको थियो।

५. मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उहाँले पुर्याउनु भएको योगदान सधैँ नै स्मरणीय रहने छ। उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविध, मानवअधिकारकर्मी, एक अटल योद्घा, निष्ठावान एवम अनुभवी राजनीतिज्ञ गुमाएको छ।

६. पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय समितिको बैठक गहिरो दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछ। स्वर्गीय ढुङ्गानप्रति सम्मान प्रकट गर्दै देहाय बमोजिम कार्यक्रम निर्धारण गरिएको छ।

७. २०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने, २०८१  मंसिर ३ र ४ मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द रहने र स्वर्गारहणको १३औँ दिनमा केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गरिने छ।

प्रकाशित मिति: : 2024-11-18 13:20:00

प्रतिकृया दिनुहोस्