सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।
रास्वपाका कार्यक्रताले प्रदर्शन गर्ने तयारी गरेको हो। रास्वपाका कार्यक्रता अहिले गौतम बुद्ध विमानस्थलमा जम्मा भएका छन्। रविलाई राज्यले प्रतिशोध साध्ने काम गरेको भन्दै आफूहरुले प्रदर्शन गर्ने तयारी गरेको रास्वपा रुपन्देहीका संयोजक बुद्धि शर्माले बताए।
रविलाई पोखराबाट बिहानै रुपन्देही ल्याउने तयारी गरेको भए पनि मौसम खराबीका कारण विमान उडान हुन नसक्दा केही ढिला भएको छ। मौसम सफा भएपछि पोखरा विमानस्थलबाट रविलाई भैरहवा विमानस्थलमा ल्याइनेछ।
रविलाई रुपन्देही ल्याउने तयारी भइरहँदा भैरहवा विमानस्थलसँगै रुपन्देहीमा सुरक्षा व्यवस्था भने कडा पारिएको छ। सुरक्षा घेराकाबीचबाटै रविलाई रुपन्देही अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ।
रविमाथि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ। सोही आरोपमा अनुसन्धानका लागि बयान लिन उनलाई रूपन्देही ल्याउन लागिएको हो।
रूपन्देही प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवामा बयान लिएर पोखरा पठाएको थियो।