आजका प्रमुख ११ समाचार (भिडियाेसहित)

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकसय दिनमा गरेकाे उपलब्धिहरु सार्वजनिक गरे। आम-मानिसबाट धेरै नै आलाेचनामा परेकाे सरकारले सार्वजनिक गरेकाे उपलब्धिबारे विभिन्न काेणबाट टिप्पणी भइरहेकाे छ। त्यसअघि आज बिहान सत्तारुढ दलहरुकाे बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे थियाे, जसकाे निष्कर्ष छ, सरकारका कामहरुलाई प्रभाकारी बनाउने।

यसैबीच विपक्षी दलहरुले साँझ राष्ट्रपतिलाई भेटेर सरकार गलत बाटाेमा गएकाे भन्दै ध्यानाकर्षण गराएका छन्।

त्यस्तै आज नेकपा (एमाले)ले दानस्वरुप लिएकाे जग्गाविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता, पाेखरामा रास्वपा कार्यकर्ताहरुकाे विराेध प्रदर्शन, रास्वपा कार्यकर्ताबारे काँग्रेसकाे टिप्पणीलगायत चर्चामा रहेका छन्। यीसँगै आजका प्रमुख समाचारहरु यहाँ प्रस्तुत छ:


प्रधानमन्त्रीले सार्वजनिक गरे सरकारका सय दिनका उपलब्धि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक सय दिनमा गरेका उपलब्धिहरु सार्वजनिक गरेका छन।

सरकार गठनकाे एक सय दिन पूरा भएकाे अवसरमा आज प्रधानमन्त्रीकाे कार्यालयमा आयाेजित पत्रकार सम्मेलानमार्फत प्रधानमन्त्री ओलीले सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका हुन्। जसमा सहकारी सम्बन्धीकाे प्रतिवेदन कार्यान्वयन, विपदमा राहत वितरण, विद्युत व्यापार, पेट्राेलियम पदार्थकाे आपूर्तिलगायत उपलब्धिहरु रहेका छन।

प्रधानमन्त्री ओलीले आफ्नाे नेतृत्वको सरकारले प्रतिबद्धता गरेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरे।

सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन्।

सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरेका हुन्।

बारम्बार सरकार फेरबदल हुँदा कर्मचारीतन्त्र अल्मलिने र त्यसबाट जनहीतका काममा प्रभाव पर्ने बताउँदै प्रधानमन्त्री ओलीले याे सरकारकाे स्थायित्वप्रति सचेत रहेकाे उल्लेख गरे।

पोखरामा रास्वपाको आन्दोलन जारी

पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि पाेखरामा प्रदर्शन गरेकाे छ। रास्वपाले आज अपराह्न साढे १२ बजेदेखि पाेखराकाे सिर्जना चाेकमा विराेध प्रदर्शन गरेकाे हाे।

सरकारले राजनीतिक प्रतिशाेध साँधेर रवि लामिछानेलाई पक्राउ गरेकाे भन्दै तत्काल रिहा गर्नुपर्ने रास्वपाकाे माग रहेकाे छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि ६ दिनदेखि कास्की प्रहरीकाे हिरासतमा छन्।

लामिछानेका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखराका सडकमा भइरहेका रास्वपा कार्यकर्ताको प्रदर्शनले नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने काम भइरहेको बताएका हुन्।

यस प्रकारका गतिविधिप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति जनाउँदै भर्त्सना गरेकाे छ।

राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्तारुढ दलको बैठक निष्कर्ष

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ।

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्।

बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन्।

सरकारका कामप्रति विपक्षी दलहरु मात्रै नभएर नागरिक समाजका अगुवा र स्वयम् सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेकाे उनकाे भनाइ छ।

प्रचण्डसहित विपक्षी दलका नेताहरु राष्ट्रपति निवासमा

प्रतिपक्षी दलहरुले सरकारको गति र मति सकारात्मक दिशामा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्।

प्रतिपक्षी दलका नेताहरु बुधबार राष्ट्रपति निवास पुगेर ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपतिसँगको भेटमा प्रतिपक्षी दलका नेताहरुले बाढीपहिरोको बेलामा प्रतिकार्य, उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणमा सरकारले ध्यान नदिएको र सुशासनमा पनि कमजोर देखिएको बताएका थिए।

दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनतालाई आशा जगाउने काम नगरेको, गर्नुपर्नेमा काममा ध्यान नदिएर नगर्नुपर्ने काममा बढी केन्द्रित भएकाले मुलुकलाई जटिलतातर्फ लैजाने खतरा बढेको भन्दै उनीहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।

मीनबहादुर गुरुङबाट एमालेले लिएकाे जग्गा दानविरुद्ध सर्वोच्चमा रिट

सत्तारूढ दल नेकपा (एमाले)ले नयाँ पार्टी कार्यालय निर्माणका लागि लिएको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन।

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४सै घण्टा सुचारु

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४सै घण्टा सुचारु हुने भएको छ।

सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग अब २४सै घण्टा खुला हुने भएकोहो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बुधवारदेखि राजमार्ग २४सै घण्टा सुचारु गरिएको छ। यसअघि असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो।

प्रधानमन्त्री लखेटेपछि ‘राष्ट्रपति भवन’ कब्जा गर्दै आन्दोलनकारी

प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका आन्दोलनकारीले राष्ट्रपति मोहम्मद साहबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन उग्र बनाएका छन्। उनीहरूले राष्ट्रपतिको बङ्गभवन पनि कब्जा गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय सहिद मिनारमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो।

प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाइरहेका छन्।

भारतमाथि बंगलादेशको जित

बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१को अग्रता लिएको थियो। भने, दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो।

प्रकाशित मिति: : 2024-10-23 20:50:00

प्रतिकृया दिनुहोस्