आजका प्रमुख १० समाचार

Break n Links
Break n Links

भित्र्याइयाे फूलपाती

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएकाे छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

टुँडिखेलमा फूलपाती बढाइँ समारोह

नवरात्रको सातौँ दिन काठमाडाैँकाे टुँडिखेलमा फूलपाती बढाइँ गरिएकाे छ। गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।

नेपाल प्रहरीले दसैँमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दसैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ।

दसैँमा सार्वजनिक यातायातका साधनहरु न्यूनरुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हाे।

उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

दसैँ मनाउनका लागि पछिल्लाे ८ दिनमा ८ लाख मानिसले काठमाडाैँ उपत्यका छाडेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए।

कात्तिक ८ गतेभित्र रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने विद्युत प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको छ। प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाम सार्वजनिक गर्दै महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको हो।

ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलबार १५ बुँदे स्पष्टीकरणसहित हालसम्मको विवरण मागेलगत्तै आज गोरखापत्रमा महसुल तिर्न उद्योगीको नाममा सूचना निकालिएको छ।

उद्याेगपति रतन टाटाको निधन

भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो।

यसअघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो। पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए। तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो।

भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो।

एमाले पार्टी कार्यालय कीर्तिपुर सर्ने

नेकपा (एमाले)ले कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले कीर्तिपुरको मैत्रीनगरमा नयाँ पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेको हो। शुक्रबार उक्त भवनको शिलान्यास गरिने भएको छ।

बुद्ध एयरमा चढेका यात्रुले खोले इमर्जेन्सी ढोका

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा चढेका एक जना यात्रुले इमर्जेन्सी ढोका खोलेका छन्।

बिहीबार बिहान साढे ५ बजे बुद्ध एयरको उडान नम्बर ५०५ काठमाडौंबाट जनकपुरका लागि उडेको थियो। तर, उक्त जहाज जनकपुरस्थित विमानस्थलमा अवतरण हुनसकेन।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार भिजिबिलिटी कम भएपछि त्यहाँ अवतरण हुन सकेको थिएन। त्यहाँबाट अवतरणका लागि जहाज विराटनगर पुगेकाे थियाे। त्यहाँबाट जहाज पुन: उडान भर्न खाेज्न लाग्दा ती यात्रुले इमर्जेन्सी ढोका खाेलेका थिए।

दक्षिण कोरियाकी साहित्यकार महिलालाई नोबेल पुरस्कार

यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हान काङले प्राप्त गरेकी छिन्। उनी दक्षिण कोरियाकी लेखक/साहित्यकार हुन्।

अहिलेसम्म साहित्यतर्फको पुरस्कार ११७ पटक दिइएको छ र यसबाट १२१ जना साहित्यकारले पुरस्कार पाएका छन्। काङ नोबेल साहित्य पुरस्कार पाउने १८औं महिला हुन्।

नेपाली फुटबल प्रशिक्षक हुमागाईंले प्राप्त गरे ’फिफा–प्रो’ लाइसेन्स

नेपाली फुटवल प्रशिक्षक प्रदिप हुमागाईंले विश्व फुटबल फिफाअन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन्। यस्तो लाइसेन्स पाउने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन्।

हुमागाईंले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन्।

हुमागाईंले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो करिअर सुरुवात गरेका थिए।

प्रकाशित मिति: : 2024-10-10 21:16:00

प्रतिकृया दिनुहोस्