एमाले पार्टी कार्यालय कीर्तिपुर सर्ने, सचिवालयले अरु के निर्णय गर्‍यो?

नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । 

नेकपा एमालेले आफ्नो पार्टी कार्यालय सार्ने भएको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले कीर्तिपुरको मैत्रीनगरमा नयाँ पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेको हो। शुक्रबार उक्त भवनको शिलान्यास गरिने भएको छ। 

२०७२ सालको भूकम्पमा बल्खुस्थित एमालेको मुख्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही सरेको थियो। त्यो बेला नेकपा माओवादीसमेत मिसिएर ‘नेकपा’ भएको थियो। पार्टी विभाजनसँगसँगै एमाले केही समयका लागि माइतीघर सरेको थियो। त्यसपछि अहिले च्यासलबाट पार्टी कार्यालय सञ्चालन हुँदै आएको छ। च्यासलको यो भवन तुलसीलाल स्मृति प्रतिष्ठानको हो। 

हरेक वर्ष डुबानको समस्या झेल्दै आएको यो भवन अहिले पनि डुबानमा परेको थियो। अब कीर्तिपुरको नयाँ पार्टी कार्यालय लगभग ११ रोपनी क्षेत्रफलमा बन्नेछ।

त्यसैगरी एमालेले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुननिर्माण कार्यमा खट्नका लागि कार्यकर्ताहरूलाई आह्वान गरेको छ। 

त्यस्तै मंसिर १६ गते हुने स्थानीय तहका उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नामावली कार्तिक २२ गतेसम्म पठाइसक्न पनि पार्टीले आफ्ना संगठनहरूलाई अनुरोध गरेकाे छ। 
बैठकले पछिल्लाे समय समाजमा निराशा र वैरभाव फैलाउने प्रवृत्ति बढेकाे भन्दै त्यसविरुद्ध एकजुट हुन पनि पार्टी कार्यकर्ताहरूलाई आह्वान गरेकाे छ।
 

प्रकाशित मिति: : 2024-10-10 15:39:00

प्रतिकृया दिनुहोस्