असोज २५ गते एनआरएनए डे मनाइने

आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ। आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ।

बैठकले संघभित्रको आफ्नो तर्फको गतिविधिलाई सशक्त बनाउने, एनसीसीहरुसँग समन्वय बढाउँदै लैजाने, एकताबद्ध एनआरएनए बनाउन पहलकदमी लिनेजस्ता निर्णय पनि गरेको छ। पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरू सहभागी बैठकमा अध्यक्ष आरके शर्माले चार वटा एजेन्डा प्रस्तुत गरेका थिए। जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा अध्यक्षबाट पेस भएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए।

सोही एजेण्डामाथि बैठकमा छलफल भएपनि अक्टोबर ११ मा भव्यताका साथ एनआरएनए डे मनाउने निर्णय भएको जानकारी दिँदै उनले नेपालमा हुनेले भौतिकरुपमा उपस्थित भएर मनाउने र नेपालबाहिर हुनेले सो दिनको ४ देखि ६ बजेसम्म भर्चुअल कार्यक्रम गरेर मनाउने तय भएको बताए। देश शोकमा भएकाले अघिल्ला वर्षको जस्तो तामझाम गरेर नमनाउने अध्यक्ष शर्माले बताए।

बैठकमा अध्यक्ष शर्माले परराष्ट्रमन्त्रीसहितलाई बोलाएर भव्यताका साथ कार्यक्रम गर्न तयारी गर्न नेपालमा रहेका कार्यसमिति सदस्यहरुलाई आग्रह गरे। सोअनुसार सम्बन्धितलाई पत्राचार गरेर उनीहरूको सहभागिता सुनिश्चित गराउन उनले सम्बन्धित पदाधिकारीहरूलाई आग्रह गरे।

यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गरेर हस्तान्तरण गर्ने निर्णय हुँदा राहत पनि दीर्घकालीन हितलाई मध्यनजर गरेर वितरण गरिने बैठकको निष्कर्ष छ। त्यसका लागि रकम संकलन गर्ने र छिट्टै हस्तान्तरण गर्नेगरी तयारी भएको छ।

बैठकमा समूहको प्रचार बढाउने, गतिविधिहरू जारी राख्नेलगायतका विषय सहभागीले उठाएका थिए। सल्लाहकार नारायण आचार्य, बुद्धिप्रकाश ओली, विमल सुवेदी र दुर्गा पौडेलसहित सहभागी कार्यक्रममा उपाध्यक्षहरु खगेन्द्र न्यौपाने,गंगाधर गौतम, केशव पौडेल, रोबिन श्रेष्ठले बद्री केसी पक्षले कोषको पैसामा मनपरी गरेको बताउँदै उनीहरु संस्था सक्न लागिपरेको बताए।

अब आफूहरु सशक्त बनेर जाने उनीहरूको भनाइ रहेको थियो। भने, कतिपयले त बद्री केसी पक्षलाई चुनौती दिनेगरी दोस्रो विकल्पमा जानेबारे समेत कुरा उठाएका थिए।

विशेषगरी उपमहासचिव प्रमोद सिटौलाले यस्तै भइरहे छुट्टै एनआरएनए बनाउनेगरी धारणा राख्दा उपमहासचिव कृष्ण गिरी, सचिव कृष्ण जिबी पन्थ, लोक दाहाल, टंक गैरे र मनोज गोर्खालीले संस्थाका गतिविधिलाई सशक्त बनाउनुपर्ने धारणा राखे। लोक दाहालले बाढी पहिरो प्रभावितलाई लक्षित गरेर बेल्जियमबाट मेडिकल टिम ल्याएर काम गर्न सकिने भन्दै त्यसका लागि वातावरण बने आफूले डाक्टरको टोली नै लिएर नेपाल जाने बताए।

यस्तै कोषाध्यक्ष ठाकुर ढुंगाना, सहकोषाध्यक्ष तिलक गैरे, प्रवक्ता नारायण सुवेदीले राहतको काममा टीम मिलेर छिटो रकम संकलन गरेर काम गर्नुपर्नेमा धारणा राखे। सो क्रममा कतिपय अभियन्ताहरुले सहयोगको घोषणा र प्रतिबद्धता पनि जनाएका छन।

यस्तै महाससिचव बुद्धि सुवेदीले आफूहरु बेथितिविरुद्ध लडेको उल्लेख गर्दै मुद्दा अदालतमा रहेकाले छिट्टै संकट समाधान हुने विश्वास व्यक्त गरे।

बैठकको अन्तिममा अध्यक्ष शर्माले एनआरएनए सबैको साझा हुनुपर्छ भन्ने नै आफूहरुको स्वार्थ एकमात्र स्वार्थ भएको बताए। ‘हामीहरु संस्थाको हितका लागि सोझो भएर लाग्दा बद्री केसी पक्षमा भने छट्टुहरु देखिएका छन्। तर हामी संस्थाको बृहत्तर हितका लागि सक्रियतापूर्वक लागिरहन्छौँ।’ उनले आगामी दिनमा टीमका सबैको सुझावलाई ममन गरेर अघि सक्रियतापूर्वक काम गर्ने पनि प्रतिबद्धता जनाए।

बैठकमा सर्वोच्चमा आफूहरुले दिएको मुद्दा विचाराधीन रहेको भन्दै छिट्टै संस्था एक हुने वातावरण तयार हुने विश्वास समेत सहभागीले गरेका थिए। मुद्दाको फैसला जे आएपनि एनआरएनएले जित्नुपर्ने उनीहरूको धारणा थियो।

गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिटसमेत दायर गरेको अवस्था छ। गत चैत २१ गते सर्वोच्चले संघको १०औँ र ११औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएपनि आफूहरूलाई काम गर्न नदिएको भन्दै बद्री केसी पक्ष फेरि सर्वोच्च गएको थियो।

केसी पक्षको मुद्दामा साउन २२ गते सर्वोच्चले उनलाई काम गर्ने बाटो खुला गरिदिएसँगै संघभित्र फेरि अन्यौलता भएको थियो। यही बीचमा शर्मा पक्षले केसी पक्षले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको जिकिर गर्दै आफूचाहिँ आधिकारिक भएको दाबीसहित अर्को रिट निवेदन दर्ता गराएको थियो। सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिने प्रयोजनका लागि भने सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दाको पेसी अब कात्तिक ५ का लागि तोकिएको छ।

गत ११औँ महाधिवेशनमा केसी पक्षले धाँधली गरेर चुनाव गरेको भन्दै शर्मा पक्षका बहुमतले होटल हिमालयमा महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेर शर्मा अध्यक्ष चयन भएका थिए। त्यसयता केसीविरुद्ध शर्मा पक्षले गतिविधि गर्दै आएको छ। केसीले भने सर्वोच्चको फैसलापछि बालुवाटारस्थित कार्यालयबाट काम गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-10-07 08:36:00

प्रतिकृया दिनुहोस्