अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशन भद्रगोल, कसरी टुंगिन्छ उमेर हदको विवाद?

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ।

गत बिहीबारदेखि सुरु भएको महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन। संगठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा परेको हो।

यसअघि पार्टीको निर्देशनमा मंगलबार उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया नै सुरु हुन सकेन। उमेर हद विवाद नै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडि रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्।  कैयौँ प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन्।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ। उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ। आफ्नो राजनीतिक क्यारियर नै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन्।

उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो। अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ। अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ।

क्रान्तिकारीको महाधिवेशनबारे निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ। पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकाङ्क्षी रहेका छन्।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ।

यता, अनेरास्ववियू क्रान्तिकारीको जारी बन्द सत्र स्थगित गरिएको छ। अब बन्दसत्र भाेलि बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

प्रकाशित मिति: : 2024-10-02 13:23:00

प्रतिकृया दिनुहोस्