बाढीपहिरो पीडितलाई १ महिना बराबरको तलब दिने प्रभु साहको घोषणा

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

सांसदले पाउने एक महिना बराबरको तलब उनले बाढीपहिरो पीडितलाई दिने जनाएका छन्।

आजपाको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसंग कुरा गर्दै देशैभरी बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षतिपुगेको बताउँदै सरकारले उद्धार, राहत लगायतका काममा देखाएको उदासीनता प्रति दुख व्यक्त गरे। उनले एक महिना बराबरको तलब सरकारी कोषमा जम्मा गर्ने बताए।

‘पूर्वसूचना हुँदाहुँदै पनि सरकारले सावधानी अपनाउन सकेन्। पीडितहरुको उद्धार त गर्न सकेन। समयमा खानबस्ने, स्वास्थ्य सहितको राहतमा पनि कुनै सुनुवाइ गर्न सकेन’ आजपा अध्यक्ष साहले भने, ‘सरकार पूर्णरुपमा असफल मात्रै होइन, असक्षम सावित भइसकेको छ। देशभरीका सडक अवरुद्ध छ। मान्छेहरु अवस्था बेहाल छ तर पनि सरकार नसुनेको जस्तो गर्नु दुखद कुरा हो।’

जनताको सेवा गर्न नसक्ने असक्षम र असफल नेताले कुर्सीमा बस्न नैतिकरुपमा नमिल्ने बताउँदे उनले राजीनामा दिन सुझाव दिए।

दुखको बेला सरकार जनताका बीचमा हुनुपर्ने भए पनि अहिले सरकार खोज्नुपर्ने अवस्था आउनु नेपाली जनताका लागि दुखको विषय भएको टिप्पणी उनले गरे।

पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले यस अघि चाडपर्व वापतको दिइने दसैँ बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए।

‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुखको बेला साथ नदिने। भाग्ने, भगौडाहरु दशैमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो? बाढीपहिरो पीडितहरु दुखमा परेको बेला दशै बोनस नलिई पीडितलाई दिदा के बिग्रिन्थ्यो?’ उनले प्रश्न गरेका छन्।

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन्।

‘विश्वमै १२ महिनाको एक वर्ष हुन्छ। तर यहाँ नेताहरुले १३ महिनाको तलब लिन्छन्। महिनामा २१/२२ दिन काम गरेर विदाको दिन घरमै बस्ने र विदाको समेत तलब खाने गरेका छन्। घुस पनि खाने, काम नगरी तलब पनि खाने, आयोजनाहरुबाट कमिशन पनि खाने र चाडपर्व वातप एक महिनाको अतिरिक्त तलब लिन्छन्’, आजपा अध्यक्ष साहले भने, ‘त्यो एक महिनाको अतिरिक्त तलब जुन चाडपर्व भनेर लिने गरेका छन्, त्यो रोकेर बाढीपहिरो पीडितलाई दिन मेरो अनुरोध छ। सरकारले उद्धारमा त ध्यान दिएन, मेरो अनुरोध छ पीडितको व्यवस्थापनमा ध्यान देओस्।’

प्रकाशित मिति: : 2024-10-01 19:07:00

प्रतिकृया दिनुहोस्