काठमाडौँ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ जोड्ने सबै राजमार्ग तथा मुख्य सडक ठप्प छन्। 

मुग्लिन–काठमाडौँ, सिन्धुली–काठमाडौँ, सिन्धुपाल्चोक–काठमाडौँसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन्। 

काठमाडौँसँग अरू जिल्लाको आवतजावत टुटेको छ। 

सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ। 

मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्।

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ।

सडक विभागका अनुसार अब पानी पर्नेक्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ।

यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ।

प्रकाशित मिति: : 2024-09-29 09:27:00

प्रतिकृया दिनुहोस्