इरानले लेबनानमा जन्माएको हिज्बुल्लाह कसरी यति शक्तिशाली भयो?

photo - aljazeera
photo - aljazeera

लेबनामभित्रै हिज्जबुल्लाहको भूमिकालाई लिएर गहिरो विभाजन छ, तथापि ऊ इजरायलसँग युद्ध लडिरहेको छ। हिज्बुल्लाह एक सिया उग्रवादीहरूको संगठन हो। मुस्लिम समुदायमा सिया र सुन्नी मुस्लिमबीच नै भेद छ।

प्यालेस्टाइनको गाजा क्षेत्रको समर्थनमा गत वर्षको अक्टोबरमा हिजबुल्लाहले इजरायमाथि आक्रमण सुरु गरेको थियो। त्यसअघि प्यालेस्टाइनको अर्को उग्रवादी समूह हमासले इजरायलमाथि धावा बोलेको थियो।

अहिले पनि इजरायल र हिज्बुल्लाहबीच युद्ध जारी छ। सातादिनभित्रै करिब ५ सयभन्दा बढी मानिसको ज्यान लिइसकेको यो युद्धमा लाखौँ नागरिक विस्थापित भइसकेका छन्।

केही दिनअघि लेबनानका भू-भागमा ताररहित डिभाइसहरू श्रृङ्खलावद्ध विस्फाेट भएका थिए। त्यसमा कैयौँ मारिए अनि सयौँ मानिस घाइते भए। इजरायले निरन्तर लेबनानमाथि हवाई आक्रमणहरू गरिरहेको छ र चाँडै नै लेबनानको जमिनमा घुसेर हिज्बुल्लाहलाई ‘सखाप’ पार्ने चेतावनी पनि दिएको छ।

वर्षौँदेखि लेबनानमा हिज्बुल्लाहका समर्थक र बिरोधीहरूबीच देखिएको स्पष्ट विभाजन सजिलै कम हुने देखिन्न। तथापि उसले लेबनानको समर्थन पाइरहेको छ र इजरायलविरुद्ध लडाइँ लडिरहेको छ। लेबनानमा हुने हरेक राजनीतिक बहसमा हिजबुल्लाह प्रमुख केन्द्रमै रहन्छ।

कैयौँ मुस्लिम देशहरूमध्ये लेबनानामा बोल्ने स्वतन्त्रता अलि धेरै छ। त्यसैले पनि यहाँका नागरिक हिजबुल्लाहको समर्थन र विरोधमा प्रस्टै देखिनेगरी नै लागिरहेका हुन्छ। र, पनि इतिहासदेखि नै हिजबुल्लाह लेबनानको एउटा मुख्य राजनीतिक र धार्मिक समूहका रुपमा स्थापित छ। लेबनानमा यस्ता धेरै धार्मिक समूहहरू छन् तर हिजबुल्लाहको ‘शक्ति’ प्रति यहाँका नागरिकको गहिरो अभिरुची पनि छ।

अधिकांश सिया मुस्लिम समुदायले यसलाई समर्थन गर्छन्। सुन्नी मुस्लिम अनि अनि इसाई समुदाय भने यसका आलोचकहरू हुन्। एक हदसम्म यसलाई यहाँको समाजले स्वभाविकरुपमै लिन्छ।

अलग अलग धर्म र विचारसँग जोडिएका यहाँ कैया समूहहरू छन्। जसले हिज्बुल्लाहलाई पूरै अस्वीकार गर्छन्। यो सबमा भने इरान नै निर्णायक हुने गरेको पाइन्छ। इरानले नै तय गरिदिन्छ कि युद्ध अनि शान्तिका लागि कुन बाटो तय गर्ने भनेर। इरानको यो प्रभुत्वमाथि यहाँको सरकार भने मौनप्राय रहन्छ।

कैयौँ त्यस्ता उग्र समूहलाई पनि हिज्बुल्लाहले सामना गरिरहेको छ, जसले उसको शक्तिशाली सेनाको विघटनसम्मको माग पनि गरिरहेका छन्। अनि कतिपय त्यस्ता कट्टर समर्थकहरू पनि छन्, जसले हिज्बुल्लाहलाई सैनिक र हतियारविहीन देख्नै चाहन्नन्।

कुनैबेला एउटा इसाई पार्टी अर्थात् फ्री प्याट्रियाटिक मुभमेन्ट नै हिज्बुल्लाहको मुख्य राजनीतिक सहयोगी थियो। वर्षौंसम्म यी दुई एकअर्काका साझेदारका रुपमै रहे। तर विस्तारै यो व्यवहारिक सम्झौता पनि भंग भयो। अहिले हिज्बुल्लाहका सम्बन्धमा यहाँका यस्ता धार्मिक र राजनीतिक समूहहरू आफैँमा बाँडिएका छन्।

लेबनानको राष्ट्रिय सेनाको तुलनामा हिज्बुल्लाहसँग निकै शक्तिशाली सैन्य दस्ता छ। कैयौँ लडाइँमा यहाँको राष्ट्रिय सेना पराजित हुँदा हिज्बुल्लाह नै अघि सर्छ र युद्धको अगुवाई गर्दै आएका छन्। राष्ट्रिय सेनाभन्दा बलियो सैन्यशक्ति र हतियारबन्द यो समूहसँग कतिपय आम नागरिकले आफ्नो सुरक्षाको महसुस पनि गर्छन्। त्यसैले पनि उसलाई हतियारविहीन देख्न चाहँदैनन्।

सन् १९८२ मा इजरायाले लेबनानमाथि आक्रमण गरेको थियो र त्यो लडाइँ लगभग सन् २००० सम्मै चल्यो। इजरायले लेबनानको दक्षिणी भू-भागहरू कब्जा गरेको थियो। अहिले पनि लेबनानका केही हिस्सामा इजरायलकै नियन्त्रण छ।

यो आक्रमणपछि इरानको आर्थिक सहयोगमा मुस्लिम धर्मगुरुहरूले परिकल्पना गरेको एउटा धार्मिक योद्धाहरूको समूह थियो हिज्बुल्लाह। खासमा यसलाई यो समुदायले ‘अल्लाहको फौज’ अर्थात् भगवानका योद्धाहरूका रुपमा लिन्छन्।

इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीलाई समर्थन गर्ने हिज्बुल्लाहलाई इरानकै इस्लामिक रिभोलुसनरी गार्डहरूले तालिम दिएका थिए। संसारकै अत्याधुनिक हातहतियारहरू पनि हिज्बुल्लाहलाई इरानले नै दिँदै आएको छ।

युद्धमा मात्रै होइन, देशभित्र सामाजिक सेवामा पनि हिज्बुल्लाहको उत्तिकै योगदान छ। यो संगठन आफैले कैयौँ अस्पताल तथा विद्यालयहरू सञ्चालन गरेको छ। लेबनानका कैयौँ पूर्वधार निर्माणको जिम्मेवारी पनि यही संगठनलाई छ।

लडाइँका क्रममा मारिएका लडाकु अर्थात् सहिदका परिवारलाई आर्थिक सहायताका लागि खडा गरिएको संस्था पनि यही संगठनले खडा गरेको छ। सरकारले गर्नेपर्ने कामहरू जति यही संगठनले नै गर्दै आएका कारण पनि लेबनानी नागरिक हिज्बुल्लाहप्रति निकै प्रभावित पनि छन्।

संसारकै उत्कृष्ट गुप्तचरीमध्ये हिज्बुल्लाहको गुप्तचरी प्रणाली र यसले फैलाएको जालो पनि एक हो। यसले इरायली सेनाभित्रसमेत आफ्ना गुप्तचरहरू फैलाइसकेको थियो। लेबनानको राष्ट्रिय गुप्तचर निकायले नै यो संगठनसँग त्यसका लागि साझेदारी पनि गर्दै आएको छ।

लेबनानमा हिज्बुल्लाहको सेनामात्रै एउटा यस्तो शक्ति हो, जसले इजरायली सेनासँग लड्न र उसमाथि धावा बोल्न सक्छ। लेबनानको राष्ट्रिय सेनासँग न गतिला हातहतियार छन्, न शक्तिशाली लडाकुहरू। सैन्य हतियारका लागि अमेरिका तथा पश्चिमी राष्ट्रमाथि निर्भर यहाँको सैनिकसँग थोत्रा हातहतियारमात्रै छन्।

राष्ट्रिय सेनाको यो हालत देखेर पनि धेरै लेबनानीहरूले हिज्बुल्लाहलाई समर्थन गर्छन्। अरु राजनीतिक पार्टीप्रति आस्था राख्नेहरू पनि यसका समर्थक छन्। त्यसकै लागि भए पनि हिज्बुल्लाहले आफ्नो सैन्य दस्तालाई सधैँ तयार अनि चुस्त राखिरहेको हुन्। अहिले इजरायलसँग लडिरहेको हिज्बुल्लाहप्रति पनि यहाँका नागरिकले सहानुभूति देखाइरहेका छन्। 

प्रकाशित मिति: : 2024-09-27 10:24:00

प्रतिकृया दिनुहोस्