कहिले थामिलएला यो युद्ध: ‘बिराम’का लागि ११ देशको प्रस्ताव

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हेजरी हालेभीले लेबनानभित्रै घुसेर हिजबुल्लाहलाई सखाप पार्न चेतावनी दिएका छन्। उनले अहिले भइरहेका हवाई आक्रमणहरूले आफूहरूलाई ‘दुश्मनको जमिन प्रवेश’का लागि बाटो खुलिरहेको पनि दाबी गरे। 

‘लडाकु जेटहरू आकाशबाट हमला गरिरहेका छन्। हामी दिनभरि नै हमला गरिरहेका छौं। त्यो भनेको हामीले त्यहाँ जमिनबाटै प्रवेश मार्ग बनाउनका लागि हो। हिजबुल्लाहलाई कमजोर पार्नका लागि हो’ उनले भनेका छन्। 

बुधवार भएका हमलामा मात्रै ५० जनाभन्दा धेरै मानिस मारिएका छन्। त्यसअघि एकै दिन चारसय भन्दा धेरै मानिसहरू मारिएका थिए। 

सेप्टेबर २३ देखि लेबनानमाथि इजरायलले आक्रमण थालेको थियो। अहिलेसम्म भइरहेका आक्रमणमा ६ सयभन्दा धेरै मानिसहरू मारिइसकेका छन्। यद्यपि यस्ता छिटफुट आक्रमणहरू सन् २००६ देखि नै हुँदै आएका छन्। 

गत वर्ष हमासले इजरायालमाथि एकाएक आक्रमण थालेपछि त्यसको समर्थनमा हिजबुल्लाहले पनि इजरायालमाथि निशाना साँधेको थियो। यो युद्धमा १० जना नेपालीको पनि ज्यान गएको छ। अहिले पनि एक जना नेपाली विद्यार्थी बिपीन जोशी हमासकै नियन्त्रणमा छन्। उनको रिहाइका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरिरहेको छ। 

संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म लगभग ९० हजार मानिस विस्थापित भएका छन्। त्यसअघि नै करिब एक लाख मानिसले घर छोडिसकेका छन्। 

यसबीचमा अमेरिका, युरोपियन युनियनलगायत ११ अरु देशहरूले तत्कालै कार्यान्वयन हुनेगरी २१ दिनको अस्थायी युद्धबिराम गर्न प्रस्ताव गरेका छन्। 

यी देशहरूले एउटा संयुक्त अपिल जारी गर्दै इजरायल, लेबनान र प्यालेस्टाइनबीचको दुश्मनी अब पूरै विश्वलाई सैह्य हुननसक्ने बताएका छन्। यो अस्थायी युद्धबिरामका बीचमा सबै देशको मध्यस्थतामा युद्धग्रस्त क्षेत्रमा शान्तिका लागि प्रयास गरिने पनि उनीहरूले जनाएका छन्। 


इजरायल र लेबनानको सिमानमा सयौं नेपाली सुरक्षाकर्मीहरू पनि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका छन्। करिब ६ हजार भन्दा धेरै नेपाली शान्ति सैनिकहरू सुडान, कङ्गो र यमनदेखि लिबियासम्म छन्। 

प्रकाशित मिति: : 2024-09-26 09:59:00

प्रतिकृया दिनुहोस्