नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको छ: रविन्द्र मिश्र

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको संविधान २०७२ पुष्पकमल दाहाल प्रचण्डको संविधान भएको दाबी गरेका छन्।

संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन्।

आजको वास्तविकता पनि प्रचण्डलबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्ने उनको धारणा छ।

‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौँ, त्यो यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो। र जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ’, उनले भने, ‘३२ सिटको जादुमय कुरा त उहाँ आफैँले गर्नुभएको छ, सिट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ। यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो।’

यसको साथै, उनले काङ्ग्रेस र एमालेका साथिहरुले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा केन्द्रमा प्रचण्ड नै रहेको बताए।

संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सहि दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ।

उनले भने, ‘तपाईको कोटमा एक, दुई ठाँउमा प्वाल पर्यो भने सिलाउन सकिन्छ तर जतात्यतैबाट च्यातियो भने सकिँदैन, त्यसैगरी यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सहि दिशामा ल्याउन सकिँदैन। यो संविधानलाई टालटुल गरेर हुँदैन।’ 

प्रकाशित मिति: : 2024-09-23 16:57:00

प्रतिकृया दिनुहोस्