नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधि लामो नभएपनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउने बेला भएको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष: अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरुलाई सच्याएर अगाडि बढ्नु स्वाभीमानी र सचेत नेपालीहरुको कर्तव्य भएको बताए।
उनले भने, ‘जनताका प्रतिनिधिहरुले बनाएको संविधान कार्यान्वयनको नौ वर्षे यात्रा धेरै लामो अवधि त होइन तर संविधानलाई पछाडि फर्केर उन्नत बनाउने बेला भने आएको छ। पछाडि फर्केर हेर्दा के के उपलब्धिहरु हासिल भए? कमजोरीहरु कहाँ भए? यसबाट शिक्षा लिँदै कसरी अगाडि बढ्ने आधार हामीले लिनुपर्छ। आफ्नो संविधान आफैँले लेख्ने र त्यही संविधानबाट शासित हुने ०७ सालदेखिको नेपालीको चाहना २०७२ सालमा आएर मात्र पुरा भयो। तसर्थ संविधान सभाबाट पारित लोकतान्त्रिक र जनताको संविधान भएकाले भएका कमजोरीहरुलाई सच्याएर अगाडि बढ्नु संविधानका पक्षधर स्वाभिमानी र सचेत नेपालीहरुको कर्तव्य हो।’
संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको पोखरेलको भनाइ छ।
उनले संविधान मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानूनी राज्यको अवधारणलगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएको बताए।
उनले भने, ‘संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। मानव अधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानूनी राज्यको अवधारण लगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध भएर समृद्ध राष्ट्र निर्माण गर्न संकल्पसहित आएको संविधान जनताको आन्दोलनको महत्वपूर्ण उपलब्धि हो।’