उपसभामुखलाई हटाउने सत्ता गठबन्धनकाे तयारी, आन्तरिक छलफलमा जुट्याे रास्वपा

File Photo
File Photo

सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेकाे छ।

उपसभामुखको आचरण सही नभएको भन्दै गठबन्धनले उनलाई हटाउन लागेकाे हाे। 

सत्तारुढ दलले उपसभामुख रानालाई  हटाउन प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।

साेमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव लैजानुपर्ने बताएका थिए।

उपसभामुख रानाले पद अनुकूल आचरण नगरेको  सत्तारुढ दलहरूको आरोप छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादाअनुसारको आचरण नगरेकाले भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे।

‘उपसभामुखले पद अनुकूलको आचरण गर्नुभएन। यो गम्भीर त्रुटि हो। उहाँ हट्नुपर्छ, उहाँ आफैँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने हाम्रो आग्रह हो’, उनले भने।

गठबन्धनले उपसभामुख रानालाई हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आन्तरिक छलफलमा जुटेकाे छ। रास्वपाले उपसभामुखलाई हटाउन लागिएकाेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाबाट उपसभामुख बनेकी रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ।  

प्रकाशित मिति: : 2024-09-10 13:19:00

प्रतिकृया दिनुहोस्