संगीनाकाे राजीनामापछि निर्देशक प्रसाईंले भने- मलाई विवादमा तान्न खोजियो

Break n Links
Break n Links

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका नवनियुक्त निर्देशक शोभितराज प्रसाईंले नियमसंगत आफ्नो नियुक्तिलाई विवादमा तान्न खोजेकोमा दुःख व्यक्त गरेका छन्।

उनले राजधानी काठमाडौँलाई मात्र मानक मान्ने ‘खेलकुदका ठेकेदारहरू’ ले युवा तथा खेलकुदमन्त्रीलगायत आफूलाई अनावश्यक विवादमा तान्न खोजेको आरोप लगाए।

कराँतेका पूर्वमुख्य प्रशिक्षक शोभित कोशी प्रदेशमा कार्यरत थिए। उनलाई भर्खरै तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त गरिएको थियो।

उनको नियुक्तिलाई लिएर आपत्ति जनाउँदै तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट संगीना बैधले राजीनामा गरेकी छन्।

शोभितलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय नियमसंगत नभएको भन्दै संगीनाले आपत्ति जनाएकी थिइन्। उनले आफू शोभितभन्दा सिनियर भएको र आफूभन्दा जुनियरलाई निर्देशक बनाउँदा आफ्नो अपमान भएको बताएकी थिइन्।

तर, शोभितले संगीनाको यो दावी गलत भएको बताए। उनले भने, ‘संगीना खेलाडी हुँदा म कराँते प्रशिक्षकमा नियुक्त भइसकेको थिएँ। अझ खेलाडीको हिसाब गर्ने हो भने उनी मभन्दा धेरै कान्छो पुस्ताकी खेलाडी हुन्।’

उनले संगीनाको दावी चकित पार्ने भएको बताए। ‘संगीनालाई तेक्वान्दो खेल कसरी खेलिन्छ भनेर थाहा नपाउँदा मैले वीरगञ्जमा २०४३ सालमा आयोजना भएको तेस्रो बृहत राष्ट्रिय खेलकुदमा कास्य पदक जितिसकेको थिएँ,’ उनले भने, ‘२०५० सालमा राखेपमा करार प्रशिक्षकमा नियुक्त हुँदा उनी खेल्दै थिइन्।’

२०४७ सालभन्दा अघि नेपालमा कराँतेका विद्या पनि तेक्वान्दो ‘स्टाइल’ मा खेल्नु पर्दथ्यो। शोभितले काठमाडौँमा २०४५ साल र नेपालगञ्जमा २०४६ सालमा भएको राष्ट्रिय मार्शल आर्ट्स प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।

उनी कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता पनि हुन्। २०५३ सालमा राखेपका सदस्य–सचिव केशव स्थापितले कराँते र तेक्वान्दो खेलाडीहरूलाई स्थायी नियुक्ति दिँदा एकै दिन निर्णय गरेका थिए। तर, पत्र बाँड्दा तेक्वान्दो प्रशिक्षकलाई एक दिन अगाडि र कराँते प्रशिक्षकलाई अर्को दिन बाँडिएको थियो। त्यतिबेला संगीनाले सुब्बासरहको नियुक्ति प्राप्त गरेकी थिइन् भने शोभितलाई अधिकृत तहमा नियुक्ति गरिएको थियो।

हाल संगीनाले उठाउन खोजेको मुद्धा पनि यही हो। तर, जिल्लामा बसेर लामो समयदेखि खेलकुदको विकासमा जोडिएका शोभित खेलाडी र प्रशिक्षक दुवै हिसाबले संगीनाभन्दा सिनियर हुन्। उनको अवकाशको मिति करिब ७ महिना मात्र बाँकी छ।

‘नेपालमा जिल्लामा काम गर्ने प्रशिक्षकको कुनै मूल्यांकन छैन। काठमाडौँमा बसेर खेलकुदका हाकिमहरूको जसले चाकडी गर्यो, त्यसैलाई पद बाँड्ने चलन छ। अहिलेको मन्त्रीले त्यो चलन तोड्न खोज्नुभएको छ,’ शोभितले भने, ‘संगीना पनि खेलकुद परिवारभित्रकै सदस्य हुन्। उनको १० वर्ष लामो करिअर छ। त्यसैले आवेगमा अरूको योगदानको अवमूल्यन नगरेको भए राम्रो हुन्थ्यो।’

प्रकाशित मिति: : 2024-09-09 11:48:00

प्रतिकृया दिनुहोस्