काेरियाली युवामा छैन विवाहकाे रहर, जन्मदर घट्दा सरकार चिन्तित

file photo via agency
file photo via agency

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ। यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरु अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ तर यस प्रयासको अझैं सफलता हात पारेको छैन।

२०२३को अन्त्यसम्म दक्षिण कोरियाको जन्मदर प्रतिहजार जनसंख्या ०.७५ रहेको थियो। जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो।

यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ। अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो। जसले जनसांख्यिकीय र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ।

दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ। पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ। यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आंकलन गरिएको छ।

कोरियामा २०–३० वर्ष उमेर समूहका युवा-युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठूला होटेलहरूमा अत्यधिक खर्च गरेका छन्। यो अवधि भित्र उनीहरूको यात्रा खर्च ३ वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ। तर, यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पुर्याउन सकेको छैन।

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो। धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ।

सन् २०२२देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ। त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ।

दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ। यस्तै प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ। गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ।

प्रकाशित मिति: : 2024-09-07 08:19:00

प्रतिकृया दिनुहोस्