पाँचथरको एउटा घरमा लुकाइ राखेको ग्रिनेड बम विष्फोट हुँदा दुईजना नाबालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो माओवादी कार्यकर्ता फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलस्थित आइतराज केरुङको घरमा विष्फोट भएको थियो। युद्धकालमा ‘आइबी’ भनेर चिनिने उनी माओवादी कार्यकर्ता हुन् र उनको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो।
प्रहरीका अनुसार विष्फोटमा परी ज्ञानबहादुर १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षकी छोरी प्रिन्सा घाइते भएका थिए।
उपचारका क्रमका लागि झापा लैजाँदै गर्दा प्रिन्सा र दिप्सनको बिहीबार राति बाटोमै मृत्यु भएको थियो।
पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पछि उनीहरूलाई बिएन्ड सी अस्पताल लगिंदै थियो। घाइते पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।