सुदूरपश्चिमका गाउँ-बस्तीमात्रै हाेइन देशकै संघीय राजधानी र प्रवासमा समेत गौराको रौनक छाएको देखिन्छ। हरेक वर्ष ऋतु परिवर्तन भएसँगै आइपुग्छ गौरा पर्व मनाउने दिन आर्थात् अमुक्ताभरण सप्तमीको दिन।
हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी १२ वर्षसम्म व्रत बसेको किम्वदन्तीमा आधारित यो पर्वसँग जोडिएका केही पौराणिक मिथहरू छन्। सामाजिक मान मर्यादा र चालचलनहरू छन्। शक्तिको आराधना गर्ने आस्थाको गोरेटो छ। भाइचारा छ। प्रेम र सदभाव छ। यसरी सरसर्ती हेर्दा यहाँ के छैन र भन्नुपर्ने हुन्छ। केही नमान्ने नास्तिकहरूका लागि पनि मनोरञ्जनको फराकिलो गोरेटो तय गरेको छ गौरा पर्वले।
अक्सर फुर्सदका समयमा भेटघाट र मनोरञ्जनका आयामलाई व्यापक बनाउने हेतुले तय गरिएका देखिन्छन् हाम्रा चाडपर्वहरू। जसले स्थापनाकालको समय र समाजको झल्को पनि दिएका छन्। यदि गहन ढंगले अध्ययन, अनुसन्धानका गोरेटोमा लाग्ने हो भने ती चाडपर्वभित्र केही विषयहरू भेटिने छन्। जसलाई परिमार्जन गर्ने वा त्यागिदिने भन्ने बहस चलाउनुपर्ने हुनसक्छ।
उदाहरणका लागि गौरा पर्वकै कुरा गरौँ- विगतको समाजको चित्रण गरेका केही प्रसङ्गहरू केलाउन सकिन्छ यहाँ। जस्तै सञ्जा भित्र्याउने कुरा। जेठी गौरा भित्र्याएको भोलिपल्ट सञ्जा अर्थात् कान्छी गौरा भित्र्याउने गरिन्छ। सौता बनेर भित्रिँदै गरेकी सञ्जाका फागहरू अध्ययन गर्दा ती फागहरू रचना गर्दाको समाजमा बहुविवाहले मान्यता पाएको कुरा स्पष्टसँग केलाउन सकिन्छ। जहाँ महेश्वर कान्छी लिएर गृह प्रवेश गर्दा ढोका बन्द गरिएको, महेश्वरले जेठी गोरालाई अनेक प्रकारले फकाइफुलाई गरेर ढोका खोल्न लगाएको जस्ता प्रसंगहरू गौराका फागमा भेटिन्छ।
अन्तमा दुबै गोरालाई गाभेर एउटै बनाई एकाकार गरी सौताहरू मिलेर बस्नुपर्ने भाव व्यक्त गरिएको देखिन्छ। विगतमा ‘मर्धले जति नि बिहे गर्छन्’ भन्ने भनाइले समाजमा व्यापकता पाएको थियो। पछिल्लो समय बहुविवाह गर्दा कानुनी सजाए भोग्नुपर्ने व्यवस्था लागू भएको छ। कुनै दिन बहसको विषय बन्न सक्छ गौरा पर्वमा सञ्जा भित्र्याउने कुरा पनि। संस्कृतिका केही पाटाहरू समयसापेक्ष परिवर्तन हुनुलाई स्वभाविक नै ठानिन्छ। तर हामीले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा हामी समयको मागलाई मनन गर्नबाट चुक्छौँ र परिणाम अर्कै देखापर्न जान्छ। जसलाई मिडियाले झनै व्यापक बनाइदिन्छ।
यतिखेर मैले जोड्न खोजेको प्रसंग हो, साेमबारको टुँडिखेलमा गौरा पर्वकाे कार्यक्रममा देखिएको दृश्य प्रसंसा संरक्षण समूहको विगत। झण्डै २५ वर्ष लामो इतिहास बोकेको प्रसंसा संरक्षण समूहका योजनाकार वा यसका जन्मदाताहरू कहिल्यै देखापरेनन् मिडियामा अनुहार देखाउन। ती नामहरू थिए, सुदूरपश्चिम विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा. डा. हेमराज पन्त, अम्बादत्त भट्ट, माधव बजगाईं, राधाकृष्ण उपाध्याय, डा. सूर्यकान्त कलौनी, डा.लोकरञ्जन भट्ट, युवराज भट्ट, गोविन्दप्रसाद ओझा श्यामप्रसाद ओझा, डा. यज्ञराज पन्त प्रतीक, रामप्रसाद भट्ट आदि।
ती सबैको उद्देश्य थियो– सुदूरपश्चिमको प्रकृति, संस्कृतिलगायतका क्षेत्रमा समाजको हित हुने गरी काम गर्ने। परापूर्वकालदेखि मनाउँदै आएका हाम्रा चाडपर्वहरूको संरक्षण सम्वर्द्धन र प्रचारप्रसारमा गति लिने। विभिन्न विषयमा अनुसन्धान गर्ने, गर्न लगाउने।
महाकवि देवकोटाका कविताका पंक्तिमा भनिएको छ, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’। यसरी गहन उद्देश्यहरू लिनु नराम्रो पक्कै हैन र थिएन पनि। त्यसमा हालसम्मको गतिविधि हेर्दा थुप्रै कामहरू भएका पनि छन्। संस्कृतिका क्षेत्रमा राजधानीमा सुदूरपश्चिम चिनाउनमा प्रसंसा संरक्षण समूहको ठुलो हात रहेको छ।
गौरा, होली, रनपुतलालगायतका थुप्रै पाटाहरू सार्वजनिक स्थलमा बनाउने सुरुवात गरी सुदूरपश्चिमबासीको मिलनको केन्द्रबिन्दु बनेकै हो प्रसंसा। सुदूरपश्चिमको विकासका सम्भावना र चुनौती विषयक सेमिनार र गोष्ठिहरू पनि नचलेका हैनन्। त्यतिबेला सबै संस्थापक सदस्यहरूको करकापले अध्यक्ष बनेका अम्बादत्त भट्टले लामो समय संस्थाको अध्यक्षता लिए। सकेजति गरे। संस्थालाई सिढी बनाउने काम कहिल्यै गरेनन् जस्तो लाग्छ।
काठमाडौँस्थित कालिकास्थानमा सुरुमा उप्रेती परिवारले पारिवारिक रुपले गौरा पूजा गर्ने गरेका थिए। प्रसंसाले त्यो परिवारलाई बिर्सनु मिल्दैन। डा. त्रैलोक्यनाथ उप्रेती परिवारको उदारता, स्नेहील र भावनात्मक प्रेम, अपनत्वको भावना भएरै उक्त गौरा टुँडिखेलमा लगेर नचाउने अनुमति पाएको थियो संस्थाले। केही वर्ष यसरी नै चल्यो प्रसंसाको गौरा कार्यक्रम। विस्तारै प्रसंसाले धानको गराबाट गौरा ल्याई विधिवत पूजाआजाका साथ यो पर्व मनाउनुका साथै कार्यक्रम गर्न थाल्यो। जसले व्यापकता पाइसकेको थियो।
सुरुसुरुमा संस्था चिनाउन संस्थाका कामहरूको बारेमा अवगत गराउन नेताहरूलाई सहभागी गराउनु ठिकै थियो। पछिल्ला दिनमा पनि विभिन्न पाटीका नेताहरूलाई कार्यक्रममा बोलाउनु अनुचित पक्कै हैन। तर, यहाँ एउटा प्रश्न तेर्सिन्छ नै। त्यो हो, जहाँ गए नि नेताकै भाषण सुन्नुपर्ने किन? यो कुरालाई आयोजकले मनन गर्न नसकेकै हो। हाम्रा धार्मिक कार्यक्रमहरू आस्था र मनोरञ्जनका कडीहरू हुन्। हाम्रा गौरवका विषयवस्तु हुन्। यस्ता कार्यक्रममा नेताहरूलाई बोलाएर कमसेकम आधी घन्टा खेल खेलिदिनोस् भन्नुपर्नेमा तामझामका साथ औपचारिक कार्यक्रम गरी दुई तीन घन्टा भाषणमै व्यतित गरिदिनु अलि उचित थिएन कि?
यसै प्रसंगमा संस्थापक सदस्य डा. लोकरञ्जन भट्ट बताउँछन्, प्रकृति, संस्कृति वातावरणलगायतका क्षेत्रको संरक्षणका निम्ति खोलिएको विशुद्ध गैरराजनीतिक संस्था थियो प्रसंसा संरक्षण समूह। औपचारिक कार्यक्रम गरी नेताका मन्तब्य राख्न लगाउँदा कतै समस्या आएको पो हो कि?
यसै सन्दर्भमा अर्का संस्थापक युवराज भट्ट भन्छन्, ‘विभिन्न परिस्थितिलाई उजागर गरेर लिडिङ गर्ने काम हुनुपर्ने हो संस्थाको। यसले सुपको विकासका लागि सबै क्षेत्र समेटेर एउटा थिङट्याङ्कको रुपमा काम गर्नु पर्ने हो। तर त्यो हुन सकिराखेको छैन।’
सुदूरपश्चिमको संस्कृति संरक्षण र विकास निर्माणमा योगदान पुर्याउने मनसायका साथ स्थापना गरिएको उक्त संस्थाले गर्नुपर्ने कामहरू थुप्रै छन्। विगतमा जुन लय पक्रेको थियो, पछिल्लो समय त्यो अलि कसिलो हुन नसकेको हो कि भन्ने भान भइरहेकै छ जनमानसमा। जे होस् उक्त संस्था एउटा मार्गमा यात्रारत भने देखिन्छ नै। त्यो यात्रा कतिको गतिशील छ त? भन्ने प्रश्न गर्दा संस्थाका संस्थापक अध्यक्ष अम्बादत्त भट्ट भन्छन्, ‘अहिलेसम्म गतिशील नै छ। तथापि हामीले अब भावी योजनाको बारेमा सोच्नुपर्ने हुन्छ। नयाँ ढंगले काम गर्न मोडालिटी बदल्नुपर्ने हुन्छ।’
प्रसंसाले मनाउने गैरा पर्वकै कुरा गर्दा पछिल्लो समयमा देखिएको एउटा अर्को दृश्य हो, नेताहरूले डेउडा खेलमा हात जोड्न थाल्दा आयोजकहरूमै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूको हातमा हात जोड्न तछाडमछाड गरिरहेका केही आयोजकहरू। केही यस्ता पात्रहरू छन्, जो आफूलाई मिडियामा ती सम्मानित व्यक्तित्वहरूसँग हात जोडेर खेल्दाको तस्बिर भजाउनमा पनि निकै कुसल देखिन्छन्। केहीको संस्थालाई सिँढी बनाएर आफू धुरी चढ्ने उद्दश्यले पनि प्रवेश भएको देखिन्छ। आत्मश्लाघा, मिडियाप्रतिको मोह र व्यक्तिगत स्वार्थका लागि संस्थामा प्रवेश गर्नेहरू संस्थाको मात्र नभई समाजकै धमिरा बन्ने खतरा प्रवल देखिन्छ।
समय र परिस्थितिलाई मध्यनजर गरी विवेकी ढंगले कार्यक्रम गर्नु आजको आवश्यकता हुन जान्छ। मलाई सम्झना छ, २०६२/०६३ को जनआन्दोलनपछि देशमा लोकतन्त्र आएलगत्तै महादेवस्थान मन्दिरको प्राङ्गणमा प्रसंसा संरक्षण समूहकै गौराको कार्यक्रम थियो। एकजना नाम चलेकै कलाकारले भाषण गर्दा बडो गर्जनका साथ भनेका थिए, ‘हाम्री लोकतान्त्रिक गोरा माता। सोही साँझ डा. डीपी भण्डारीले फोनमा मसँग बडो गम्भीर भएर भन्नुभयो, ‘मलाई एउटा कुराले दिनभरी सताइरह्यो हेमन्त।’ मैले जिज्ञाशा प्रकट गरेँ, ‘त्यस्तो कुनचाहिँ विषय आइलाग्यो र सर?’
आजको कार्यक्रममा त्यो मान्छेले यस्तो भन्यो। हामी हरेक विषयवस्तुलाई लगेर लोकतन्त्रसँग जोड्न थाल्यौँ। आज निकैबेर त्यही कुरा सोच्न बाध्य भएँ, ‘चर्चा कमाउने हेतुले जे पनि बोलिदिनेहरू कुन दिन लोतान्त्रिक आमा लोकतान्त्रिक बुवा भनिदिने हुन्। त्यति त नभनिदिए हुन्थ्यो।’
हो हामी व्यक्तिवादी बनेर चर्चाका भोका बन्यौँ। यदि हामी आत्मश्लाघामा रमाउन थाल्यौँ के बोल्ने के नबोल्ने, के गर्ने के नगर्ने साचबिचार नै नगरी छाडा हुन थाल्यौँ भने हामी समाजलाई अधोगतितिर धकेल्नु शिवाय केही गर्दैनौँ। यस अर्थमा प्रसंसका संस्थापकहरू साच्चिकै प्रसंसाका पात्र छन्। यसको अर्थ यो नलागोस कि पछिल्लो समय कार्यसमितिमा रहेकाहरू कामका छैनन्। संस्था यहाँसम्म आउनमा हरेक कार्यसमितिका सदस्यहरूको ठुलो योगदान छ। अपवादका रुपमा कोही देखापर्ने गरेका छन् भन्न खोजेको मात्रै हो। व्यक्तिगत स्वार्थका लागि कसैले संस्थालाई भर्याङ बनाउँदैछ भने सोच्नु आवश्यक हुन्छ नै।
सामाजिक सञ्जालमा जताततै चर्चा छ हिजोकै कार्यक्रमको। व्यापक जनसहभागीता भएको स्थलमा यी यस्ता आवाज उठ्नुलाई एकथरिले अहिलेको परिवेशमा समान्य भनेर टिप्पणी गरिरहेका छन् भने एकथरि आकाशै खसेजस्तो गरेर प्रस्तुत भइरहेका छन्। कसैले स्विकारुन् या नस्विकारुन्, सरसर्ती हेर्दा यहाँ अलिकति आयोजकको कमजोरी देखिन्छ भने केही समयले उठाउन बाध्य बनाएका आवाजहरू पनि सुन्नमा आउँछन्।
सबैभन्दा बेसी त यो भीडको कोलाहल मात्र हो। भनिन्छ, भीडसँग विवेक हुँदैन। त्यसैले भीडमा कसैले कसैका विरुद्धमा एउटा आवाज निकालिदिँदा कुनै कुराको सोचविचार नै नगरी होमा हो मिलाउनेको कमी हुँदैन। तथापि यस्त घटनाबाट आउने दिनका कार्यक्रमका लागि आयोजक पक्षले विवेक पुर्याउन जरुरी देखिन्छ।