रास्वपाबाट निकालिएपछि मुकुलले भने- रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकाल आफू रवि लामिछाने क्लवबाट निष्कासित भएको दाबी गरेका छन्।

रास्वपाकाे मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्ताे दाबी गरेका हुन्।

उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई नभएकाे भन्दै न्यायिक निकायले कारवाहीलाई बदर गरे नैतिकताको आधारमा लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्ने बताए।

‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन। न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ। नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ’, उनले भनेका छन्।

सहकारी प्रकरणका सवालमा रवि लामिछानेले जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेकाे आराेप लगाउँदै उनले आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरेकाे बताए।

‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्‘, उनले भनेका छन्, ‘यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन्। सम्बन्धित निकायको ध्यान जाओस्। र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन।’

प्रकाशित मिति: : 2024-08-27 12:20:00

प्रतिकृया दिनुहोस्