श्रम संघर्षद्वारा विचार निर्माण

दिगाे

काठमाडाैं
Break n Links
Break n Links

समाज बदल्ने मुख्य कुरा विचार नै हो। नेपाली समाज विभेदसहितको समाज बन्न पुगेको छ। त्यो विचारकै प्रभाव हो। संसारभर क्रान्ति र प्रतिक्रान्ति दुवै भए ती पनि निश्चित विचारद्धारा निर्देशित थिए। नेपालमा राज्य एकीकरण वा विस्तार भयो। १९१०को मुलुकी ऐनले नेपाली समाजको संरचनालाई वैधता दियो। पञ्चायती व्यवस्था फाल्न विभिन्न विचारले संघर्ष गरे। राजतन्त्र ढाल्न सशस्त्र विद्रोह वा जनयुद्ध र जन-आन्दोलन भयो। यी सबै विचारद्धारा प्रशिक्षित थिए।

अहिले प्रदेश खारेजीको माग उठेको छ। त्यो पनि निश्चित विचारबाट नै निर्देशित छन्। नेपाली समाजको अन्यौलताबाट अवस्था परिवर्तनको आवाज बुलन्द भइरहेका छन्। यसले पनि निश्चित विचार निर्माणको गति लिँदैछ। बालेन मन्द आवाजमा काम गरिरहेका छन्। त्यो पनि विचार निर्माणको प्रक्रिया नै हो। पूर्वकाे धरानदेखि हर्क साम्पाङ शनिबारलाई श्रमबार भन्दै सामूहिक श्रम गरिरहेका छन। यो पनि विचार निर्माणको प्रक्रिया नै हो। हामी विश्वको इतिहास हेरौं या नेपाली समाजको श्रम संघर्षद्धारा नै विचार निर्माण हुन पुगेका छन् र हुन्छन्। त्यसैले आउनुहोस् अब विचार निर्माणमा प्रभाव पार्ने तत्वहरू के-के हुन् छलफल गरौं:

विचार निर्माणमा प्रभाव पार्ने तत्वहरु:

मानिस जन्मन्छ र मृत्युवरणसम्म केही कुरा सिक्ने प्रयत्न गर्दछ। मानिसले सिक्न नचाहँदा पनि ऊ थुप्रै कुरा सिक्न पुग्दछ। मनिसको विचार निर्माण कसरी हुन्छ भन्ने कुरामा मेरो विचारमा मुलभूत दुई प्रकारका परिवेशले विचार निर्माण हुने गर्दछ:-

१. प्रकृतिक गुण

अ. मानवीय गुणहरु

२. सांस्कृतिक परिवेश

अ. बौद्धिक संस्कृति

आ. भौतिक संस्कृति

इ. पुँजी

ई. विज्ञान र आध्यात्म

उ. सन्चार र प्रविधि

ऊ. शिक्षा

ऋ. सिदान्त र दर्शन

ए. कला, साहित्य

ऐ. भाषा

ओ. धर्म

औ. सामाजिक मूल्य, मान्यता

१. प्राकृतिक गुण

प्रकृति भन्ने बित्तिकै आफैँ निर्मित वा वैज्ञानिक नियममा आधारित रहेर बनेको कुरा भन्ने बुझिन्छ। जुन कुरा मानवले नबनाएर स्वत: प्राकृतिक वातावरण र प्राकृतिक नियमद्धारा बनेको भनेर बुझ्नु पर्दछ। प्राकृतिक नियममा आधारित रहेर बनेका भौतिक संसारको समग्रता नै प्रकृति हो।

यहाँ मानिस, जनावर, वनस्पति, वायुमण्डल, जलाशय अन्य प्राकृतिक तत्वहरु रहेका छन। विशेषत: यी कुराहरुसँग गरिने प्रत्यक्ष र अप्रत्यक्ष श्रम सम्बधले नै विचार निर्माण गर्दछ। मानिसको मस्तिष्कभित्र हुने अन्तरद्धन्द्धका कारण पनि विचार निर्माण हुन पुग्दछ। मानवले प्रकृतिबाट यस्तो प्राकृतिक गुण प्राप्त गरेको छ कि सोही गुणका कारण मानव अरु प्राणीभन्दा फरक बन्न पुगेको छ। अब छलफल गरौं ती गुणहरुले मानवलाई विचार निर्माणमा के कस्ता भूमिका खेल्दछन।

अ. मानवीय गुण

मानवले प्रकृतिबाट यस्ता गुणहरु प्राप्त गरेको छ। उक्त गुणहरु अरु प्राणीमा छैनन। त्यसैले मानव मानव बनेको छ। मानव मस्तिष्कमा ८६ अर्ब न्यूरोन छन। जुन न्यूरोनका कारण मानवले सोच्ने, अनुभव गर्ने, कल्पना गर्ने जस्ता गुणहरु प्राप्त गरेको छ। सोही गुणद्धारा मानिसले प्राकृतिक स्रोत साधन प्रयोग गरेर भौतिक वस्तुहरु र संस्कृति निर्माण गरेको हो। तिनै आफूले निर्माण गरेका भौतिक वस्तु, प्राकृतिक संसारमा भएका भौतिक चिजहरु र आफूले निर्माण गरेका संस्कृतिसँग प्रत्येक्ष र अप्रत्यक्ष रुपमा श्रम संघर्ष गर्न पुग्दछ। ती कुराहरुसँग आफूले गरेका श्रम संघर्षलाई मस्तिष्कका माध्यमद्धारा बृहत् कल्पना, अनुभव, महसुस गर्न पुग्दछ। यस प्रक्रियाद्धारा एक मानवमा मानवीय गुणद्धारा विचार निर्माण हुन पुग्दछ।

मस्तिष्कको अन्तरद्धन्द्धले कसरी विचार निर्माण हुन्छ सानो उदाहरण तल हेर्नुहोस:-

१. मान्छेले मस्तिष्कमा धेरै प्रकारका कुरा खेलाउँछ, केलाउँछ, अन्तरद्धन्द्ध गर्छ, आफैँले आफैँमा छलफल गर्छ र कुनै भौतिक प्रयोगद्धारा कुनै प्राकृतिक नियम पत्ता लगाउँछ भने त्यो विज्ञान हुन पुग्दछ। त्यो हजारौं वर्षपछि प्रयोग गर्दा पनि सोही नतिजा आउँछ।

२. सोही प्रक्रियाद्धारा प्राकृतिक स्रोत साधनको प्रयोग गरी भौतिक चिज निर्माण गर्दछ भने त्यो प्रविधि हुन आउँछ।

३. मस्तिष्क भित्रको लामो अन्तरद्धन्द्ध र छलफलपछि कुनै कला ,साहित्य, तर्क, दर्शन, ज्ञान, धर्म, सामाजिक मूल्य मान्यताजस्ता कुराको निर्माण हुन्छ भने यी कुरा बौद्धिक संस्कृति वा समाज विज्ञान हुन आउँछन।

४. मस्तिष्क भित्रकै लामो अन्तरद्धन्द्ध र छलफलपछि कुनै अन्धविश्वास र रुढीवाद जन्मछ भने त्यो कुरा अध्यात्म हुन पुग्छ।

यसरी नै विज्ञान, प्रविधि र समाज विज्ञानको मिश्रणबाट भौतिकवादी विचार बन्न पुग्छ। अन्धविश्वास र रुढीवादको मिश्रणबाट अध्यात्मिक ज्ञान बन्न पुग्छ। जुन कुरा भ्रम हो।

यसरी मानवले पाएको प्राकृतिक गुणहरुबाट विचार निर्माण हुने गर्दछन।

२. सांस्कृतिक परिवेश

प्रकृति र मानव मस्तिष्कबीच संघर्ष चल्ने क्रममा मस्तिष्क, हात-खुट्टा, विज्ञान प्रविधि र मानवीय श्रम प्रयोग गरेर निर्माण हुने कुरा नै संस्कृति हो। जस्तै:- साहित्य, कला, दर्शन, कथा, कविता, धर्म, पैसा, घर, गाडी, मोटर आदि।

अझै बुझ्नलाई सजिलोको लागि:-

जस्तो कि यो प्रकृतिमा ढुङ्गा र काठ युगौं युगदेखि रहँदै आएको छ। त्यो ढुङ्गा र काठलाई प्रयोग गरेर मानिसले गुलेली/अन्य कुनै हतियार बनायो र सिकार गर्न सिक्यो। यो पनि एक संस्कृति हो।

त्यही काठ, ढुङ्गा, माटो र पानी प्रयोग गरेर घर निर्माण गर्‍याे। त्यो पनि संस्कृति हो।

यो प्रकृतिमा नदी सदियौंदेखि बगिरहेको छ। त्यस नदीबाट पानी तानेर बोतल/गाग्रीमा हालेर खान सिक्यो। त्यो पनि संस्कृति हो।

यसरी प्रकृति र मानव मस्तिष्कबीच प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संघर्ष गर्ने क्रममा केही नयाँ र पृथक कुरा मानवले सिक्दछ भने त्यो कुरा संकृति हो र यही आफैँले निर्माण गरेका संकृतिहरुसङ्गको निरन्तर लामो संघर्षपछि एक मानवमा आग्रह-पूर्वाग्रह निर्माण हुन्छ। सोही क्रममा संसार हेर्ने, बुज्ने, व्याख्या गर्ने र बदल्ने दृष्टिकोण निर्मान हुन जान्छ। त्यही कुरा नै विचार हो।

अब छलफल गरौं, मानवले निर्माण गरेका संस्कृतिहरुले कसरी विचार निर्माणमा प्रभाव पार्दछन।

अ. बौद्धिक संस्कृति

प्रकृति र मानव मस्तिष्कबीच संघर्ष चल्ने क्रममा मस्तिष्कद्धारा भौतिक रुपमा वस्तु निर्माण गर्न नसकिने कुरा उत्पादन हुन्छ भने ती सबै कुरा बौद्धिक संस्कृतिभित्र पर्दछन। जस्तै:- साहित्य, कथा, कविता, निबन्ध आदि। मान्छे आफूलाई मनपर्ने कथा, कविता, निबन्धजस्ता थुप्रै कुरा निर्माण गर्दछ। ती कुराहरुको अध्ययनद्धारा एक आग्रह-पूर्वाग्रह निर्माण गर्न पुग्दछ। सोही कुराले एक मानिसमा विचार निर्माण हुन पुग्दछ।

आ. भौतिक संस्कृति

प्रकृति र मस्तिष्कबीच श्रमसंघर्ष चल्ने क्रममा कुनै कुराको मानवले कल्पना गर्दछ र सोही कल्पना गरेको कुरालाई प्रयोगद्धारा भौतिक वस्तुका रुपमा निर्माण गर्न सकिन्छ भने ती सबै कुरा भौतिक संस्कृति हुन। जस्तै:- सूचना गर्ने प्रविधियुक्त साधनहरु, गाडी, घर, पुस्तक आदि। यी भौतिक वस्तुहरुसँगको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संघर्ष चल्दा मानव मस्तिष्कमा बन्ने अवधारणा नै विचार हो।

इ. पुँजी

मान्छेको विचार निर्माणमा महत्वपूर्ण भूमिका पुँजीले पनि खेल्दछ। यो संसारमा सबैभन्दा लामो समय शासकहरुले दबाएर बसेलेका मध्य-श्रमिक जनता नै हुन। जसलाई अधिक श्रम गराइन्छ तर उसलाई सजिलै जीवन-निर्बाह गर्ने गरी उसले गरेको श्रमको मूल्य दिइँदैन। त्यसो हुँदा ती श्रमको मूल्य नदिनेका विरुद्ध लगभग १९औँ शताब्दी यता एकजुट भइ संयुक्त आन्दोलन चलाउन थालेका छन। त्यसैले मान्छे पुँजी प्रयाप्त भएका र नभएकाहरुले बिलकुल फरक जीवनको आत्मानुभूति गर्दा रहेछन। सोही पुँजीले नै शासक हुने या आमजनता श्रमिक हुने भन्ने कुरा पनि निर्धारण गर्दो रहेछ। मानिसले पुँजीको प्रयाप्तता या अपुगका कारण आफ्नो जीवनसँग गर्ने श्रम संघर्षले विचार निर्माण हुन पुग्दछ।

ई. विज्ञान र आध्यात्म

मान्छेले जब प्रकृति र मस्तिष्कको श्रम सम्बन्धका क्रममा खोज अनुसन्धानद्धारा प्राकृतिक नियम पत्ता लगाउँछ भने त्यो विज्ञान हो। सोही प्रक्रियाद्धारा प्राकृतिक स्रोत साधनको प्रयोगद्धारा कुनै भौतिक चिज निर्माण गर्छ भने त्यो प्रविधि हो। प्राकृतिक सत्य र मनवीय प्रश्नहरुको उत्तर दिने क्रममा बिनाआधार, तथ्यहीन कुराको कल्पना गर्न पुग्दछ। अन्धविश्वास, रुढीवादमा आधारित ज्ञान र संस्कृति निर्माण हुन्छ भने त्यो आध्यात्म हो। यसरी नै विज्ञानले सत्य र आध्यात्मले झुट व्याख्या गर्न पुगछन।

उ. सूचना सन्चार तथा प्रविधि

मानव समाजले धेरै युगहरु सूचना सन्चारको लागि मानव श्रमकै प्रयोग गर्‍याे। जब मानवले भाषाको विकास गर्‍याे तब मानवलाई सन्चार गर्न सहज भयो। मानवलाई सूचना दिन र सन्चार प्राप्त गर्न आवश्यकता बढ्दो जनसंख्याले अतिअसहज हुँदै गयो। त्यसकै सहजताका लागि आधुनिक युगमा मान्छेले प्रकृति र मानव मस्तिष्कको श्रमद्धारा प्राकृतिक श्रोत साधनको प्रयोग गरी सूचना सन्चारको माध्यम प्रविधि विकास गर्‍याे। सूचना सन्चारको लागि प्रयोग गरिने भनिएको प्रविधि पुँजी आर्जनाका लागि प्रयोग गरिन थाल्यो। यसरी सूचना सन्चार तथा प्रविधि विकृत हुँदै गइरहेको छ। यसले मानवको विचार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

ऋ. शिक्षा, सिद्धान्त र दर्शन

प्राचीन युगमा खासै शिक्षा आर्जन गर्ने मान्छेको जमात हुँदैन्थ्याे। कसैले शिक्षा आर्जन गरे भने त्यसैलाई दार्शनिक भन्ने गर्दथे। मध्ययुगमा शिक्षा, सिद्दान्त र दर्शनको क्षेत्र धर्मले ओगट्यो। त्यो बेला धार्मिक शास्त्र पढ्ने पोप, ब्राह्ममण आदिलाई नै महान ठानियो। जसको फलस्वरुप विश्व समाज अन्धविश्वासी र रुढीवादी बन्न पुग्यो। आधुनिक युगमा जब विज्ञानको विकास भयो। ती रुढीवादविरूद्ध बुलन्द आवाज उठ्न थाले।

यसरी इतिहासमा मानव विचार बन्ने प्रक्रियालाई अन्धविश्वास, रुढीवाद र आध्यात्म महत्वपूर्ण भूमिका खेल्न थाल्यो। जसको निरन्तरता अझै पनि छ। जब आधुनिक युगमा विज्ञानको धार्मिक सत्ताका मान्छेहरु धर्म नै विज्ञान हो भन्ने तर्क पेश गर्न थाले। अझै पनि उनीहरु चाहन्छन। समाज विज्ञानले नभै धर्मले नेतृत्व गरोस् र मानव विचार रुढीवादमा आधारित बनोस्। हाम्रा शिक्षा प्रणाली पनि यसैमा आधारित छ। नेपाली समाजमा रहेका कम्युनिस्ट नामक मानव माक्सवादी सिदान्तद्धारा रुढीवाद लाद्न तम तयार भएर बसेका छन। यसरी शिक्षा, सिदान्त र दर्शनद्धारा मानव विचार निर्माण हुन पुग्दछ।

ए. धर्म र सामाजिक मूल्य मान्यता

धर्म अफिम हो भन्ने दार्शनिक पनि यस विश्वमा जन्मिए। आधुनिक युगमा विज्ञानको उदय र विकास पश्चात धर्म विज्ञान हो भन्नेहरुको पनि कमी छैन। धर्मले थुप्रै प्रकारका सामजिक मूल्य मान्यता र संस्कृति पनि निर्माण गरेको छ। ती सबै मूल्य मान्यता र संस्कृतिहरु अन्धविश्वास र रुढीवादमा आधारित छन। समस्त समाजको बनावट वैज्ञानिक आधारहीनताबिना बनेको छ। धर्मले निर्माण गरेका ज्ञानहरु पनि त्यसै सिलसिलालाई निरन्तरता दिइरहेका छन। जसको फलस्वरुप मानवीय विचार पनि अन्धविश्वास र रुढीवादमा आधारित भएर बनेका छन। मानवजस्तो चेतनशील प्राणी धर्म आस्था हो। त्यसैले हामी ईश्वरवादमा विश्वास राख्छौ भन्न बाध्य छ। आफूले आफूलाई चेतनशील ठान्ने मानवले त बिनाआधार कसैको समर्थन गर्न हुँदैनथ्यो। यसरी धर्म र सामाजिक मूल्य मान्यताले संस्कारका माध्यमद्धारा अन्धविश्वासी र रुढीवादी विचार निर्माण गर्न पुग्दछ।

प्राकृतिक, भौतिक र बौद्धिक चिजहरुको अन्तरघुलन र मष्तिष्क बिचको श्रम संघर्षद्धारा नै विचार निर्माण हुन पुग्दछ।

प्रकाशित मिति: : 2024-08-24 18:31:00

प्रतिकृया दिनुहोस्