अमेरिकामा कमला-टिमको 'गधा' र ट्रम्प-भान्सको 'हात्ती' आम्नेसाम्ने

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।

डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वार छान्नका लागि राष्ट्रपति उम्मेद्वार कमलासामु पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो र मिनेसोटाका गभर्नर टिम वाल्जबीच  चुनौतिपूर्ण छनौट थियो । धेरैको अनुमान १९ कलेज इलेक्ट्रल मत भएको ब्याटलग्राउण्ड स्टेट पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो उम्मेद्वार हुने थियो तर अन्तत: कमलाले १०  कलेज इलेक्ट्रल मत भएको नीलो राज्य मिनेसोटाको गर्भनर छानिन् ।

केही समयअघि कमलाले पेन्सेल्भिनयाको फिलाडेल्फियामा आफ्नो उपराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई सार्वजनिक गर्दै चुनावी क्याम्पेन सुरू गरिन् । गजबको कुरा के थियो भने राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र उपरराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई पेन्सेल्भेनियाका गर्भनर जस सपिरोले नै औपचारिक रूपमा मञ्चमा प्रस्तुत गरे र परिचय गराए । फिलाडेल्फिया जस सपिरोको गृह सहर पनि हो ।

डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वारमा टिम वाल्जको घोषणासँगै डेमोक्रेटिक पार्टीमा थप ऊर्जा देखिएको छ । उम्मेद्वारको नाम सार्वजनिक गरेको केही घण्टामै दुई करोड अमेरिकी डलर चन्दा उठिसकेको छ । तर, रिपब्लिकन पार्टीमा भने एक किसिमको निराशा, कुण्ठा र हतासा देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेद्वार  ट्रम्प र उपराष्ट्रपति उम्मेद्वार जेडी भान्सले लगभग एकै किसिमको भाषामा डेमोक्रेटिक उम्मेद्वारहरू उग्र वामपन्थी भएको आरोप लगाएका छन् । 

प्रकाशित मिति: : 2024-08-07 07:19:00

प्रतिकृया दिनुहोस्