मान्छे बाघको आहारा होइन्, त्यो कुरा बुझ्नुपर्छ। चितवनको जंगलमा एकसय वटा बाघ छन भने पाँचवटा बाघ मात्र समस्याग्रस्त हुन्छन्। त्यसैले निकुञ्ज व्यवस्थापनले के गर्नुपर्यो भने त्यो पाँचवटा बाघ कुन हुन सक्छ भनेर निरन्तर मनिटरिङ गर्नुपर्छ। त्यसपछि मान्छे र बाघको द्वन्द्व हुँदैन्।
डा. नरेश सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवका रुपमा कार्यरत छन्। संरक्षणको क्षेत्रमा लामो समय काम गरेका डा. सुवेदी हिउँ चितुवा, हात्ती र बाघहरूको अनुसन्धानात्मक काममा पनि उत्तिकै सक्रिय छन्।
वन्यजन्तु विज्ञान वन अनुसन्धान संस्थान विश्व विद्यालय देहरादून, भारतबाट विद्यावारिधि गरेका उनी नीति निर्माणका क्षेत्रमा पनि अब्बल मानिन्छन्। पछिल्लो समय नेपालमा बाघको अवस्था, संख्या र संरक्षणका सवालमा सरकारले गरिरहेको कामका बारेमा कुराकानी प्रस्तुत छ:
नेपालमा बाघको सङ्ख्या दोब्बले वृद्धि भएको भनिएको छ। सङ्ख्या दोब्बर बनाउने कुरामा सफलता कसरी प्राप्त भयो?
बाघको सङ्ख्या एकैचोटी दोब्बर भएको होइन्। यसका लागि दश वर्षको समय लाग्यो। बाघको सङ्ख्या घट्नुको मुख्य कारण दश वर्षसम्म चलेको माओवादी जनयुद्ध प्रमुख कारण हो। किनभने द्वन्द्वको समयमा वन्यजन्तुको संरक्षणमा खटिएका सुरक्षाकर्मी राष्ट्रिय सुरक्षामा केन्द्रीत हुँदा चोरी सिकारी बढ्यो र धेरै बाघहरु मारिए। द्वन्द्वको समयमा नेपालमा बाघको सङ्ख्या आधा नै घट्यो। बर्दियामा मात्र हेर्ने हो भने ६० प्रतिशत बाघको सङ्ख्या घटेको थियो।
द्वन्द्वपछि २०१०मा १२३को संख्यामा बाघ थिए। तर, द्वन्द्वको समयमा वन जंगलमा चाहिँ चोरले फाइदा उठाए। त्यही भएर बाघको संख्या घटेको थियो। तर, मुलुक शान्ति प्रक्रियामा आएपछि हामी बाघको संरक्षणमा जुट्यौं र संख्या दोब्बर गर्नेतर्फ लाग्यौं। नेपाली समुदाय ,सुरक्षाकर्मी, स्थानीयबासी र संरक्षणसम्बन्धी संस्थाहरुको एकीकृत प्रयासको कारणले यो सम्भव भयो। बाघलाई संरक्षित क्षेत्रमा राख्नुपर्ने बाध्यता छ। ठूलो क्षेत्रफल उपलब्ध बाघलाई राख्दा संख्या वृद्धिमा सहयोग पुग्ने गर्छ।
त्यसोभए बाघलाई ठूलो खुल्ला क्षेत्रमा राख्नुको साटो सदर चिडियाखानामा ल्याएर राख्नु कत्तिको उचित छ?
चिडियाखानामा बाघ राख्नु भनेको बाघको शैक्षिक ज्ञान प्राप्तिको लागि हो। किनभने नयाँ पुस्तालाई बाघ कस्तो हुन्छ भनेर कहाँ पढाउने त? जङ्गलमा गएर बाघ त देखिंदैन्। चिडियाखानामा राख्नुको मुख्य कारण शिक्षा नै हो। बाघ कस्तो हुन्छ भनेर नजिकबाट अवलोकनको लागि राखिएको हो। र, चिडियाखानामा राखिएका बाघहरु सबै समस्याग्रस्त बाघहरु हुन्। मान्छे खान पल्केका बाघहरुलाई मार्नका साटो ल्याएर राखिएको हो। चिडियाखानामा राख्दा पनि विश्व मापदण्डभित्र रहेर राख्नुपर्छ। त्यतिकै ल्याएर चिडियाखानामा राखेको होइन्। केही समस्याग्रस्त बाघहरुलाई मात्र राखिएको हो। त्यसैले यसलाई जायज भन्न रुचाउँछु। अवलोकनकर्ताको सन्तुष्टि र शिक्षाका हिसाबले जायज छ। तर, केही लोपोन्मुख जनावरहरुलाई चिडियाखानामा राखेर फेरि जंगलमा छाड्ने गरिएको छ।
तपाईंको ३० वर्षको अनुभवमा बाघमा के कस्ता परिवर्तन आए। इको सिस्टमले गर्दा या व्यवहारमा नै केही परिवर्तन आएको छ कि?
बाघको व्यवहारमा तार्किक भिन्नता केही पनि हुँदैन्। किनभने मान्छेसँगै बाघहरुको उत्पति र परिवर्तन सँगसँगै हुँदै आएको हो। त्यसैले ३० वर्षमा यो नै परिवर्तन भयो भन्ने छैन्। केही जंगलहरु थिए ती अतिक्रमण भए, केही सुकुम्वासी बस्ती भए। तर, बाघको आनिबानी चाहिँ केही पनि परिवर्तन भएको छैन्।
जलवायु परिवर्तनले पनि यसलाई केही असर गर्छ?
जलवायु परिवर्तनले असर चाहिँ गर्न सक्छ। तर, असर आजको आज नै देख्न सकिँदैन्। के असर पर्छ भन्ने चाहिँ कसैले अध्ययन गरेर पत्ता लगाउन सकेको छैन्।
बाघको सङख्या बढ्दा मानिसलाई आक्रमण गर्ने र मानवीय जोखिम पनि बढेको देखियो। बाघको सङ्ख्या अझै पनि बढाउन जरुरी छ र?
नेपालको सन्दर्भमा करिब तीन सयको हाराहारीमा बाघ भयो भने एउटा सन्तुलन आउँछ। बाघको सङ्ख्या बढाउनुपर्छ भन्ने एजेण्डा होइन, अहिले भएको बाघलाई कसरी वैज्ञानिक व्यवस्थापन गर्ने, मानव र बाघको सहअस्तित्व कसरी कायम गर्ने भन्ने अहिलेको एजेण्डा हो। अर्को के बुझ्नुपर्छ भने जंगलमा भएका सबै बाघहरु समस्याग्रस्त हुँदैनन्। सयवटा बाघ छन् भने पाँचवटा मात्रै मान्छेसँग समस्यामा आउने हुन्। ९९ प्रतिशत बाघहरु मानिससँगको द्वन्द्वमा आउँदै आउँदैनन्। अहिलेको व्यस्थापनको चुनौति के हो भने पाँच प्रतिशत बाघहरु गाउँ बस्तीमा बस्छन्। अथवा बुढो भएका छन् र दुईवटा बाघ लड्दाखेरी घाइते भएका छन् भने समस्यामा पर्छन्। त्यसलाई जंगलमा ठाउँ ठाउँमा क्यामेरा राखेर मनिटरिङ गर्ने, समस्यामा आउन सक्ने बाघहरुलाई पहिचान गरेर अगाडि नै व्यस्थापन गर्यो भने मान्छे र बाघको द्वन्द्व हुँदै हुँदैन्। किनभने मान्छे बाघको आहारा होइन्, त्यो कुरा बुझ्नुपर्छ। चितवनको जंगलमा एकसय वटा बाघ छन भने पाँचवटा बाघ मात्र समस्याग्रस्त हुन्छन्। त्यसैले निकुञ्ज व्यवस्थापनले के गर्नुपर्यो भने त्यो पाँचवटा बाघ कुन हुन सक्छ भनेर निरन्तर मनिटरिङ गर्नुपर्छ। त्यसपछि मान्छे र बाघको द्वन्द्व हुँदैन्।
अर्को ९८ प्रतिशत मान्छे र बाघको द्वन्द्व गाउँम होइन जंगलमा नै भएको पाइन्छ। कसरी भन्दा निकुञ्ज क्षेत्रमा निगुरो टिप्न जाँदा, राति लुकेर माछा मार्न जाँदा, घाँस दाउरामा जाँदा द्वन्द्व भएको छ। त्यसैले मान्छेसँग बाघलाई कुनै रुचि छँदै छैन्। बाघले तिमी यहाँ नआउ भन्दा मान्दैन्। त्यसले सचेत त मानिस नै हुनुपर्छ। बाघको संङ्ख्या बढेर जनतालाई दुःख दियो भन्ने चाँही केही पनि छैन्।
चितवन निकुञ्जमा दुई लाख पर्यटक आएको कारण किन हो? बाघ र गैंडाको कारणले नै हो। बर्दियामा २० हजार आएको कारण के हो? बाघ र गैडाकै कारणले हो। त्यसैले बाघलाई पर्यटकीय क्षेत्रका रुपमा बढी प्रयोग गरेर राज्यले फाइदा लिने कुराहरु प्राथमिकता दिनुपर्छ। र, बाघलाई जंगलमा नै राख्नको लागि बाघका आहारका प्रजातिहरु जंगलमा बढाउनुपर्छ। त्यसको लागि त्यहाँको घाँसे मैदानहरु सही किसिमले व्यस्थापन हुनुपर्छ। वैज्ञानिक तरिकाले काम गर्न सक्नुपर्छ।
बाघको सङ्ख्या बढेसँगै अरु स–साना वा अन्य जनावरलाई चुनौती थपिने देखिन्छ। बाघको सङ्ख्या बढ्दा अरु जनावरको पनि सङ्ख्या बढाउने हो कि? अथवा बाघलाई मात्र प्राथमिकता दिइएको हो?
यदी बाघको संरक्षण गर्न सक्यो भने अन्य वन्यजन्तुरुलाई पनि सहयोग पुग्न सक्छ। किनभने जंगलमा बाघ मात्र रहने होइन्। वासस्थानलाई राम्रो राख्न सकियो भने सबैखाले वन्यजन्तुलाई फाइदा हुन्छन्।
बाघ बढी भएर अन्य जनावरलाई सकाउछन् कि भन्ने कुरा चाहिँ हुँदैन्। बाघले खाने भनेर बुढो भएकालाई, विरामीलाई, दौडिन नसक्नेलाई सिकार गर्नसक्छ। जनावरलाई छाट्ने काम गर्छ। त्यसैले बाघले खाएर लोप नै हुने अवस्था भने रहँदैन्।
वर्तमान अवस्थामा पहिला अपनाएका भन्दा फरक कस्तो शैली वा विधि अपनाएर संरक्षणको काम गर्दै हुनुहुन्छ?
पहिलो काम जंगलमा के भइरहेको छ भने हेर्ने हो। गैंडा, बाघ कति छन भनेर हेर्ने हो। बच्चाहरुको अवस्था के कस्तो छ, भाले बाघ कति र पोथी बाघ कति छन् भन्ने कुराहरुको अध्ययन अनुसन्धान गर्नु जरुरी हुन्छ। हाम्रो राष्ट्रिय प्रकृतिसँग विभिन्न प्रजातिको निरन्तर मनिटरिङ गर्ने, बासस्थानको अनुगमन गर्ने र वैज्ञानिक रिपोर्टहरुको माध्यमबाट पनि राज्यलाई सुझाव र ज्ञान दिने कामहरु गरिरहेका छौं।
अहिले संसार टेक्नोलोजीमा चलिरहेको छ। त्यसैले नयाँ-नयाँ टेक्नोलोजीको प्रयोगबाट काम गरिरहेका छौं। जनावरहरुमा स्याट्लाइट वा ड्रोनमा कसरी काम गर्न सकिन्छ, थर्मल ड्रोनको प्रयोगबाट चितवनमा गैंडाहरुको गणना कसरी गर्ने लगायतको कामहरु गरिरहेका छौं। मानव र वन्यजन्तुको द्वन्द्व अलि बढ्दो अस्थामा छ। द्वन्द्वमा आउने वन्यजन्तुलाई व्यवस्थापन गर्ने काममा सरकारलाई वा हाम्रो संस्थाले काम गर्छ। वन्यजन्तु पीडित समुदायका लागि विभिन्न आय आर्जनका कार्यक्रमहरु, क्षमता अभिवृद्धिका कामहरु हाम्रो प्राथमिकतामा छन्।