शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो: शिक्षामन्त्री

शिक्षा, विज्ञान एवम् प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु नहुनुको प्रमुख कारण दलीय प्रभाव भएको बताएकी छिन्।

नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।

‘शिक्षा क्षेत्रलाई राम्रोसँग स्थापित गर्नुपर्छ भन्ने विषयमा आज पनि हामी छलफल गरिरहेका छौं। विश्वविद्यालयहरुमा देखिएको प्रमुख चुनौति भनेको विश्वविद्यालयको क्यालेण्डरलाई हामीले फलो गर्न सकेका छैनौं। क्यालेण्डरलाई फलो गर्न नसक्नुको प्रमुख कारण भनेको त्यहाँ भएको दलीय प्रभाव नै हो। दलीय हस्तक्षेप नै हो भन्ने निष्कर्षमा पुगेका छौं। दलीय हस्तक्षेपलाई निरुत्साहित गराउनका लागि शिक्षा मन्त्रालय विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पर राख्नका लागि विश्व विद्यालयलाई नीतिसँग कसरी जोड्ने भन्ने छलफल गर्दैछौं,’ उनले भनिन्।

विश्वविद्यालयहरुबीच पारस्परिक सम्बन्ध स्थापित नभइसकेको उनको भनाइ थियो।

अन्य विश्विविद्यालयलाई गाली गरेर आफू राम्रो बन्ने परिपाटी राजनीतिक चरित्र भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा यसको अन्त्य गर्ने दाबी गरिन्।

‘विश्वविद्यालयहरुबीच पारस्परिक सम्बन्ध स्थापना भइसकेको छैन। एकले अर्को विश्विद्यालयलाई दोष देखाएर कसरी आकर्षित गर्न सक्छन्। सबै विश्वविद्यालयले आफूलाई राम्रो भनिरहँदा अरुलाई दोष दिनुपर्छ भन्ने मलाई लाग्दैन। म यस कारण राम्रो छु भनेर व्याख्या गर्न पाइयो। हाम्रो राजनीतिले सिकाएको चरित्रको कारण अरुलाई नराम्रो देखाउन सकियो भने आफू राम्रो भइन्छ भन्ने’,उनले भनिन्।

भिडियाे :

प्रकाशित मिति: : 2024-07-27 16:36:00

प्रतिकृया दिनुहोस्