सिग्देललाई प्रधान सेनापतिमा नियुक्त नगर्न माग गर्दै सर्वाेच्चमा रिट

File Photo
File Photo

नेपाली सेवाकाे प्रधान सेनापतिमा बलाधिकृत रथी अशाेकराज सिग्देललाई नियुक्त नगर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेकाे छ।

शुक्रबार सिन्धुलीका युवराज सफलले उमेर हद पुगिसकेका सिग्देललाई सेनापतिमा नियुक्त नगर्न परमादेश माग गर्दै सर्वाेच्चमा रिट हालेका हुन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिग्देल, सैनिक मुख्यालय र रक्षा मन्त्रालयलाई विपक्षी बनाएका छन्।

‘उमेर हद पुगी सकेका विपक्षी अशोक राज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति एवम् कायम मुकायम प्रधान सेनापतिमा नियुक्त नगर्नु भनि विपक्षी मन्त्रिपरिषद्‌का नाममा प्रतिषेध, परमादेश लगायतका आवश्यक पर्ने आदेश जारी गरी पाउन सादर निबेदन गर्दछु’, निवेदनमा भनिएकाे छ।

सफलले सिग्देलले आफ्नो उमेर पटक–पटक सच्याएको र विभिन्न दस्तावेजमा विभिन्न उमेर उल्लेख गरेको हुँदा उमेर ढाँटेर, छलेर एवम् राज्यका निकायलाई भ्रममा पारेर उमेर हदका कारणले अवकाश भई सक्नुपर्ने व्यक्ति हालसम्म पनि ओहदामा बसी रहेकाे उल्लेख गरेका छन्।

‘ओहदामा बसी राज्यबाट सेवा सुबिधा लिई रहनु भएको र निजलाई नै कानूनविपरित भाबी प्रधान सेनापति बनाउने तयारी भइरहेको सन्दर्भमा गैर कानूनी कार्यलाई रोकी नेपाली सेनाको संस्थागत मर्यादा र मुलुकको शान एंब गौरब रक्षार्थ नेपाली नागरिकको हैसियतमा सार्बजनिक महत्वको संबैधानिक र कानूनी प्रश्नको व्याख्या एवम् निरुपणका लागि अन्य बैकल्पिक उपचारको मार्ग समेत नभएको हुँदा यो रिट निवेदन प्रस्तुत गरेको छु’, सफलले भनेका छन्।

सिग्देलले ५८ वर्ष पुगेको देखिएकाेले सैनिक ऐन, २०६३ को दफा ८, ९, १७ अनुसूचि ३ एवम् १८ बमोजिम सेवाबाट हटाउनु/वर्खास्त गर्नु भनि विपक्षी मन्त्रिपरिषद कार्यालयका नाममा परमादेशको आदेश जारी गर्न माग गरेका छन्।
 

प्रकाशित मिति: : 2024-07-26 17:18:00

प्रतिकृया दिनुहोस्