सिन्धुलीको मुलकोट र खोटाङमा होटल पौवाको सेवा विस्तार

नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सिन्धुलीको सुनकोशी किनारको मुलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट सुरु गरेको छ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मुलकोटमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।

यस्तै ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो।

नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पुर्याउनका लागि मिसन १०० को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौँ। काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो। काठमाडौंको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौँ।’

‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौँ। रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ,’ अध्यक्ष भण्डारीले थपे।

यसैगरी पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले पौवा ग्रुपले देशको संस्कार र संस्कृति जोगाउन आफूहरूले काम गरिरहेको बताए।

‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो। नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ। यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ। हामी पौवाको विस्तार व्यवसाय मात्र होइन, हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौँ,’ ज्ञवालीले भने।

‘मिसन १००’ को यात्रा

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो। पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो।

अहिले पौवाको १४औँ शाखा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५औँ शाखा विस्तार गरिएको हो। पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ।

पौवाका व्यवस्थापक धुव्र न्यौपानले आफूहरूको लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने रहेको बताए।

‘नेपालमा घुम्ने स्थान अथाह छ। हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो। हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ,’ न्यौपानेले भने, ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ।’

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास रहेको उनको भनाइ छ।

एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2024-07-24 16:52:00

प्रतिकृया दिनुहोस्