दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ। 

गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो। उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ। 

वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ। 

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो। 

यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ। उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो। 

आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएको थियो।  टिमुरका लागि दाङ पकेट क्षेत्रका रूपमा  रहेको जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्बर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ। 

प्रकाशित मिति: : 2024-07-23 19:34:00

प्रतिकृया दिनुहोस्