प्रधानमन्त्रीमा ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे नियुक्तिविरुद्धको रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने भएकाे छ।

आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।

न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको भनेको छ।

‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा’ भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको छ।

प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: : 2024-07-21 15:54:00

प्रतिकृया दिनुहोस्