प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन्। आज अपराहन्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन्।  

संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्‍याउने रहेको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्‍याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ। ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ। यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ।

अब दुई तिहाई मत पुर्‍याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ। अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ। उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन्। तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ।

मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन्। तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन। यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन्। जसपा नेपालका ५ सांसद रहेका छन्।

त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ। जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन्।

त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन। नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ।

यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ। मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन्। दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ।

अर्को तर्फ १४ सिट रहेको राप्रपाले भने ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएको छ। राप्रपाले संबिधान संशोधनको खाका स्पष्ट रुपमा आएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएको छ। 

त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन्। तीन दलको गरी प्रतिनिधिसभामा ६३ मत रहेको छ। त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ।

प्रकाशित मिति: : 2024-07-21 06:53:00

प्रतिकृया दिनुहोस्