चाैकीदारसँग बिद्राेह गरेर जेल ‘ब्रेक’ गरेका ‘बालकैदीहरू’

जयेन्दु बाल सुधार गृहमा भएको तनावग्रस्त परिस्थितिलाई नियन्त्रण गर्दै प्रहरी/फाइल फाेटाे
जयेन्दु बाल सुधार गृहमा भएको तनावग्रस्त परिस्थितिलाई नियन्त्रण गर्दै प्रहरी/फाइल फाेटाे

सोमबार साँझ साढे ६ बजे ड्यूटीमा खटिरहेका थिए चौकीदार। बाँकेको ‘जयेन्दु बाल सुधार गृह’को कम्पाउण्डरभित्र उनी बालकहरूको निगरानी गरिरहेका थिए। 

त्यहीबेला सुधार गृहमा बसिरहेका चार जना बालक उनको छेउमा आए, त्यसपछि ‘रड’ले हिर्काउन थाले। 

एकाएक तीन जनाले चौकीदारलाई कुटिरहँदा एक जना बालक भने ‘चेन’ गेट खोल्दै थिए। चौकीदारले आफूहरूलाई गरेको व्यवहारबाट उनीहरू उन्मुक्ति हुन चाहन्थे।

तर सुधार गृहबाट भाग्नका लागि गेटकाे चाबी फोडिरहेको देखेपछि शिक्षकले ती बालकहरूलाई रोक्न खोजे। तर, कसैकाे कुार सुनेन् उनीहरूले। बरू, उल्टै शिक्षकमाथि पनि ईट्टा बर्साइदिए। 

चौकीदार र शिक्षकलाई घाइते बनाएका उनीहरू ड्यूटीमै खटिरहेका ‘असई’लाई पनि  घाइते बनाइदिए। त्यसपछि गेट खोलेर चार जनासँगै ६५ जना बालकहरू सुधार गृहबाट फरार भए।

घटनाको कारण के थियो? 

जयेन्दु बाल सुधार गृहमा सोमबार साँझ घटेको घटना सामान्य भएको बताउँछिन्, गृहकी प्रमुख काउचा मगर। उनका अनुसार बालकहरूलाई चौकीदारले गरेको व्यवहार राम्रो नलागेकै कारण घटना निम्तिएको हो। दुई पक्षबीच झडप भएको होइन। 

‘एउटा घरको बच्चालाई त कहिलेकाहीँ अभिभावक मन पर्दैन भने यहाँ त कहाँ–कहाँबाट ल्याएर बालकहरूलाई राखिएको छ, त्यसैले कसैको व्यवहार राम्रो नलाग्नु स्वभाविक हो तर झगडा गर्नु ठिक होइन’, उनले भनिन्, ‘तर दुई समूह बनाएर झडप भएको होइन।’

१४ जना टोली रहेको चौकीदारमध्ये मुख्य उनी नियम कडाका साथ पालना गर्न लगाउँथे। उनको त्यही स्वभावका कारण चिडिएका थिए, चारै बालक। जसमध्ये दुई जना कर्तव्य ज्यान मुद्दा र दुुई जना पटक–पटक चोरीको मुद्दामा समातिएका थिए। 

चार जना बालकले मच्चाएको आंतकको कारण सुधार गृहमा खैलाबैला मच्चियो। त्यसपछि अन्य ६१ जना बालकहरूपनि उनीहरूलाई पछ्याउँदै गृहबाट बाहिरिए।  

‘चौकीदार कुट्नका लागि मुख्य चार जना बालक आएका थिए तर तोडफोड भएपछि अन्य बालकहरू पनि डरले उनीहरूसँगै भाग्न थाले’, बिएल नेपाली सेवासँग उनले बताइन्। 

जयेन्द्र बाल सुधार गृहमा आजभन्दा एक वर्षअघि पनि यसैगरी लफडा भएको थियो। जहाँ एक बालकले ज्यानै गुमाउनुपर्यो। 

त्योबेला झडपको मुख्य कारण नै गाँजा र लागुऔषध थियो। तर अहिले ‘रिसीबी’ रहेको उनको भनाइ छ।

‘विगतका दिनमा हामीले यहाँ बालकहरूको साथबाट लागुऔषध पनि भेटेका थियौं तर अहिले त्यो छैन’, हालको चौकीदारले गरेको निगरानीकै कारण बालकहरूमा लागुऔषध नभेटिएको बताउँदै उनले भने, ‘त्यही रिसले चौकीदारलाई कुटेका हुन्।’

कुनैबेला बाल सुधार गृहका बालकहरूको साथमा मोबाइल हुन्थ्यो र त्यही फोनमा लागुऔषध लुकाउने गरेको भेटिन्थ्यो। 

तर अहिले चौकीदारले गरेको निगरानीकै कारण उनीहरूको साथमा मोबाइल राख्न पाएका छैनन्। त्यही आक्रोशले चौकीदारलाई कुटपिट गरेको उनको ठम्याइ छ। 

‘बिनाकारण कोही पनि कसैसँग झगडा गर्दैनन्। उनीहरूको झगडा हुनुको ठ्याक्कै कारण त भन्न सक्दिनँ तर रिसले नै निम्त्याएको घटना जस्तो लाग्छ’, उनले भनिन्, ‘चौकीदारले कडाइका साथ गराएको नियम उनीहरूलाई मन परेको थिएन।’

एउटा रिसले निम्त्याएको घटनाको कारण ६५ जना बालकहरू सुधार गृहबाट भागे। जसमध्ये ६३ जना समातिसकेका छन् भने अझै दुई जना भारतीय बालक फरार छन्। जो जर्बजस्ती करणी र लागुऔषध बेचबिखन मुद्दामा समातिएका थिए। 

के भन्छ प्रहरी? 

बाल गृहबाट भागेकामध्ये दुई जना बालकहरूको खोजीकार्य भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए। उनका अनुसार हालसम्म दुई भारतीय बालकहरू सम्पर्कविहीन छन्। 

‘६५ जनामध्ये हामीले ६३ जना बालकहरूलाई नियन्त्रणमा ल्याउन सफल भयौं तर दुई जना भारतीय बालकहरू फरार छन्’, उनले भने, ‘उनीहरूकै खोजीकार्य भइरहेको छ।’

हाल जयेन्दु बाल सुधार गृहमा २ सय ७२ जना बालबन्दी रहेका छन्।

प्रकाशित मिति: : 2024-07-09 15:30:00

प्रतिकृया दिनुहोस्