झारफुकका लागि बोलाएर हत्या, ३ जना पक्राउ

Symbolic photo
Symbolic photo

पर्सामा दुई जना व्यक्तिको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार र साेही वडाको धर्मपुर बस्ने ४५ वर्षीय महादेव महतो नुनिया रहेका छन्।

मुख्य योजनाकार भनिएकाहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरेको हो भने नुनियालाई उनको घरबाट पक्राउ गरिएको हो। तिनै जनालाई १८ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए।

गत जेष्ठ २९ गते मंगलबारका दिन जगरनाथपुरको ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मटिर नेपालको सिमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो।

घटनाको सुक्ष्म अध्ययन

फारेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरसहितको अनुसन्धान विशेषज्ञ टोलीले वारदातस्थलबाट कानुन बमोजिमको सम्पूर्ण कार्य पुरा गरी लाश पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाएपश्चात विभिन्नकोणबाट घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानको क्रममा प्राविधिक विश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईबी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको हो।

यसरी घटाइएको थियो घटना

घटना घटाउने मुख्य योजनाकारले हत्याको पूर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने विश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटनास्थल सम्म बोलाएका थिए। हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई ८ लाख रुपैयाँ दिएर (सुपाडी) हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।

मृतकहरु जेष्ठ २५ गते शुक्रबार साँझ सवा ६ बजेको समयमा बारा जिल्लाको आफ्नो निज निवासबाट बसमा चडी पर्साको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरेका थिए।

त्यस्तै उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाँक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुऱ्याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका वडा नं. १ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उक्त घटनामा संलग्न योजनाकार सहितको तीन जना व्यक्तिहरु हाल पक्राउ गरिएपनि अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भइसकेको र निजहरुको खोजी कार्य भइरहेको प्रवक्ता भारतीले बताए।

पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-04 10:59:00

प्रतिकृया दिनुहोस्