रविसँग डराए महामन्त्री ढकाल, बैठक ‘लाइभ’ गर्न माग

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आउँदो केन्द्रीय कमिटीको बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्न प्रस्ताव राखेका छन्।

महामन्त्री ढकालले ‘समीक्षा–यात्रा’को प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको केन्द्रीय कमिटी बैठक लाइभ गर्न माग राखेका हुन्।

‘बैठकको लाइभ गर्न मैले सभापतिलाई भनेको छु। तर, गर्ने वा नगर्ने केही भन्नुभएको छैन,’ महामन्त्री ढकालले भने।

इलाम–२ उपनिर्वाचनपछि ३९ जिल्लाका नेता–कार्यकतालाई प्रत्यक्ष भेटेर उनीहरूको धारणा बुझेपछि तयार पारिएको प्रतिवेदन महामन्त्री ढकालले अघिल्लो साता पार्टी सभापति रवि लामिछानेलाई सुम्पिएका थिए।

उक्त प्रतिवेदनमा रास्वपाको जनमत नभएको, पार्टी यही अवस्थामा अगाडि बढेमा रास्वपाले आगामी निर्वाचनमा १–२ सिट पनि जित्न नसक्ने, काठमडौँ महानगरपालिका मेयर बालेन्द्र शाहसँग सहकार्य हुने सुझाव प्रतिवेदनमा उल्लेख गरेको महामन्त्री ढकालले विभिन्न सञ्चार माध्यमलाई बताउँदै आएका छन्।

सो प्रतिवेदनपछि ढकालको महामन्त्री पद संकटमा छ। रास्वपाभित्र महामन्त्री ढकालको विश्लेषण प्रतिवेदनलाई लिएर चर्को विवाद उत्पन्न भएको छ। अधिकांश सांसद र केन्द्रीय सदस्यहरूले उनलाई तत्काल कारबाही गनुपर्ने माग गरेका छन्।

यद्यपि, ढकालले आफूले प्रतिवेदनमार्फत् प्रस्तुत गरेका सुझावहरू सत्य र यथार्थपरक रहेको दाबी गर्दै पार्टीले नयाँ बाटो अपनाउनुपर्ने उल्लेख गरेका छन्।

प्रतिवेदनपछि ‘पार्टीबाट निकालिन्छु कि भन्ने डर’मा रहेका ढकालले यसअघि नै सभापति लामिछानेसँग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका थिए। पदच्युत हुने त्रासमा रहेका ढकालले फेरि केन्द्रीय कमिटीसामु आउँदो बैठक लाइभ गनुपर्ने कुरालाई जोड दिएका छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-06-30 12:00:00

प्रतिकृया दिनुहोस्