एघार वर्षपछि युरोपमा ‘मिलन’ भएको एउटा परिवारको कथा

Break n Links
Break n Links

गृहयुद्धले थिलोथिलो भइसकेको सिरिया छोड्ने बेला खलिल जम्मा छ वर्षका थिए। हरेक रातदिन उनको सपनामा पनि युद्ध र रगतले लतपतिएका भयंकर तस्विरहरूले झस्काइरहन्थे। त्यही बेला उनले सिरिया छोडे। 

पश्चिम सिरियाको सबैभन्दा ठूलो सहर होम्स। यही सहरमा ट्याक्सी चलाउने आफ्ना पिता अनि दुई साना बहिनीहरूका साथमा खलिल बस्थे।  

गृहयुद्धअघि यो सहरमा १५ लाख मानिसको बसोबास थियो। सन् २०११ को सुरुवातमा राष्ट्रपति बशर अल असदको सरकारविरुद्ध भएको बिद्रोहको एउटा मुख्य मुकाम यो सहर पनि थियो। सन् २०१५ को अन्त्यतिर विद्रोहीको कब्जामा रहेको यो सहर सरकारी सेनाले आफ्नो नियन्त्रणमा लियो। 

‘मेरो गाउँ दुई पहाडका बीचमा थियो जहाँ हरेक रात लडाईंमात्रै भइरहन्थ्यो’ खलिल सम्झिन्छन् ‘जब सैनिक अनि विद्रोही लडाकुहरू एकआपसमा भिडन्त गरिरहेका हुन्थ्यो त्यो बेला बम, गोलीका चम्किला रोशनीहरूले हामीलाई निकै भयंकर डराउन दिन्थे।’ 

जनविद्रोहको समयमा बेलामा सरकारले आतंकवाद विरोधी कानुन सक्रिय बनाएर दशौं हजार मानिस गिरफ्तार गरेको थियो। खलिलका पिता इब्राहिमलाई पनि त्यो बेला सेनाले गिरफ्तार गर्‍यो। 

‘जब बुवा बाहिर निस्किए तर पनि हामीले सुख पाएनौं बरु झन धेरै यातनाहरू खेप्नुपर्ने अवस्था आयो त्यही भएर हामीले सिरिया छोड्ने निर्णय गर्‍यौं’ त्यसपछि एक शरणार्थीका रुपमा उनीहरूको लगभग ११ वर्षे लामो यात्रा तय भयो। यो लगभग सन् २०१३ तिरकै कुरा थियो। 

त्यो बेला लगभग १५ सिरियाली परिवार छिमेकी लेबनाममा थिए। लेबनानमा लगभग ५३ लाख मानिस बस्छन्। दुनियामा सबैभन्दा कम शरणार्थी राख्नेमध्ये लेबनान एकमात्रै देश हो। 

खलिलको परिवारको पहिलो गन्तव्य पनि लेबनान नै थियो। करिब एक वर्षजति रहँदा बस्दा खलिलको परिवारले त्यहाँ आफ्नो भविष्य देखेन र लेबनान पनि छोड्ने निर्णयमा पुग्यो। 

त्यसपछि यो परिवार कानुनीरुपमै बिमानबाट टर्की पुगे। त्यो बेला टर्कीले ‘ओपन डोर’ नीति अख्तियार गरेको थियो। अहिलेसम्म टर्कीमा लगभग ३६ लाख सिरियाली शरणार्थीहरू छन्। 

खलिलको परिवारमा टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा रहन थाल्यो। यहाँ लगभग पाँच खाल सिरियाली शरणार्थी थिए। यो सहरमा लगभग १ करोड १६ लाख जनसंख्या छ। 

उनी यहाँ चार वर्षसम्म बसे। त्यसपछि फेरि त्यहाँका स्थानीय र शरणार्थीहरूबीच लगभग युद्धकै अवस्था सुरु हुन थाल्यो। 

‘इस्तानबुलमा मलाई सबैले तिमीहरू सिरिया नै किन फर्किन्नौं? भनेर भनिरहेका थिए’ खलिल भन्छन् ‘तर मैले अनि मेरो परिवारले यतिधेरै तनाव र दु:खहरू झेलिरहेको थियो कि मैले जिन्दगीसँगै अघि बढ्ने निर्णय लिइसकेको थिएँ। पछाडि फर्किनेवाल थिइनँ।’ 

सन् २०१९ तिर टर्की सरकारले शरणार्थीहरूलाई जबर्जस्ती सिरया फर्काउने हर्कत सुरु गर्न थाल्यो। तर त्यसलाई अहिलेसम्म टर्की सरकारले खन्डन गर्दै आएको छ। त्यो बेला शरणार्थी शिविरमा पनि हल्लीखल्ली मच्चिएको थियो। 

यस्तो अवस्थामा खलिलको परिवारले त्यहाँबाट पनि अघि बढ्ने निर्णय गर्‍यो। उनीहरू टर्कीको दक्षिणी पश्चिमी तटीय क्षेत्रतिर लागे। उनीहरूले त्यहाँबाट एजियन समुद्र पार गरेर ग्रीसका लागि यात्रा तय गरेका थिए। यो निकै चुनौतीले घेरिएको यात्रा थियो। 

तीनपटकको अफसल कोसिसपछि चौथो पटकमा एउटा डुङ्गा भेटियो जसमा ५० जनामात्रै अट्थे। खलिलको परिवारले पनि त्यसमा ठाउँ पायो। उनीहरू ग्रीसको एउटा द्वीपमा पुगे। 

‘त्यो एउटा सपनाजस्तै थियो। हामी खुसी थियौं र अब सुरक्षित पनि भयौं भन्ने लागिरहेको थियो’ खलिल भन्छन् ‘हामीले आफैसँगको एउटा लडाईं जितिसक्यौं जस्तो लागेको थियो र अब हामी हाम्रो भविष्यलाई राम्रो बनाउँछौं भन्ने थियो।’ 

तर खलिल र उनका परिवारका सपनाहरू धेरै लामो समयसम्म टिक्न सकेनन्।  

सन् २०२० तिर त्यहाँ पुगेका शरणार्थीहरूलाई टर्कीतिरै पठाउन सुरु गरिएको थियो। मानवअधिकारवादी संघसंस्थाहरूले शरणार्थीमाथि भइरहेको त्यस्तो ज्यादतीको विरोध र आलोचना गरिरहेका थिए। 

त्यो बेला खलिलको परिवार पनि त्रासमा थियो। तर खलिलले प्रण गरिसकेका थिए ‘आफ्नो परिवारको भविष्यका लागि म एक्लै भए पनि युरोपतिरै लाग्छु।’ 

उनका पिता झन डराउन थाले। अनि डरैडरै सोधे ‘छोरा यो पक्का निर्णय हो, के तिमी ढुक्क छौं?’ 

खलिलले जवाफ दिए ‘हो यो मेरो निर्णय पक्का हो। म जाँदैछु।’ त्यसपछि बल्ल इब्राहिमले छोरा खलिललाई ‘तयार हुन’ भने। 

त्यसपछि खलिलको एक्लो यात्रा सुरु भयो। 

आफ्नो परिवारलाई त्यहीँ छोडेर उनी २०२०को अक्टाबरमा अरु शरणार्थीहरूसँगै अल्बानियाका लागि निस्किए। त्यो बेला खलिल १३ वर्षका थिए। 

यो लगभग १६५ किलोमिटरको पैदल यात्रा थियो। पहाड अनि नदीहरू पार गर्दागर्दै खलिलको शरीर गलिसकेको थियो। कैयौ दिन उनले अन्नसमेत खान पाएनन्। 

यो समूहसँग पानी अनि स्लिपिङ ब्यागहरू थिए। आफ्नो यात्रालाई रोमान्टिक बनाउनका लागि उनीहरू यात्राका दृश्यहरू मोबाइलमा कैद गर्थे। बेलाबेला हाँसिमजाक गर्थे। करिब दुई सातापछि उनीहरू कोसोभोको राजधानी प्रिस्टिना पुगे र त्यहाँबाट फेरि सर्बियाको यात्रा सुरु भयो। 

नोभेम्बर २०२०मा खलिल सर्बियाको राजधानी बेलग्रेड पुगे। 

परिवारलाई पठाउन भनेर उनले मोबाइलमा रेकर्ड गरिराखेको सन्देशमा भनेका छन् ‘धेरै भयो अब म सक्दिनँ। म धेरै थाकिसकें…।’ 
तर त्यो सन्देश उनले पठाएनन्। बरु थकित ज्यान लिएरै भए पनि अघि बढिरहे। 

१५ असफल प्रयास

खलिल जसरी भए पनि सर्बियाको पश्चिममा रहेका अस्ट्रिया वा नेदरल्यान्ड पुग्न चाहन्थे। 

उनले युरोपेली संघको सिमा पार गर्न धेरै पटक प्रयास गरे। ११ पटक हंगेरीबाट सिमाना नाघ्ने प्रयास गरे। तीन पटक क्रोएशियाबाट अनि एकपटक रोमानियाबाट। तर ती सबै प्रयासहरू असफल रहे। 

चार महिनाको यो भयंकर प्रयाससँगै उनको स्वास्थ्यमा समस्याहरू देखिन थाले। उनी अघि बढ्न सकेनन्। अनि बेलग्रेडमै बस्न थाले। 

एक अनुमानित तथ्याङ्कका अनुसार युरोपेली देशहरूमा पुग्नका लागि २०१५पछि १० लाख भन्दा धेरै आप्रवासी तथा शरणार्थीहरूले बाल्कनको रुट प्रयोग गरेका थिए। 

युरोपियन काउन्सिल अन रेफ्यूजी एन्ड एक्जाइल्सका अनुसार हरेक वर्ष हजारौं मानव बेचबिखनका दलालहरू तथा सिमा सुरक्षा बलको निशानामा परेका थिए। उनीहरूको यौन हिंसा अनि उत्पीडनको सामना गर्नुपरेको थियो। 
खलिललाई बेलग्रेड कहिल्यै आफ्नोजस्तो सहर लाग्दैनथ्यो। तर पनि उनी खुसी थिए। तीन वर्षसम्म खलिलका लागि त्यही नै नयाँ घर थियो। जहाँ उनी स्कुल पनि जान सुरु गरेका थिए। उनले अंग्रेजी पनि सिक्न थाले अनि आफ्ना साथीहरू पनि बनाए। 
यहाँ रहेका बाल शरणार्थीहरूलाई विभिन्न संघसंस्थाहरू सहयोग गरिरहेका थिए। खलिललाई पनि एउटा कोठा दिइएको थियो। आफू सुत्ने ठाउँमा उनले आफैले कोरेका चित्रहरू टाँसेका थिए। 

एउटा चित्रमा उनले आफ्नी आमाको नामको पहिलो अक्षरलाई ‘मुटु’को आकार दिएका थिए। अनि त्यसमा पंख भएका दुई परीहरूको चित्र पनि थियो जो आकाशतिर उड्ने कोसिसमा थिए। समग्रमा खलिलका लागि त्यो उनको परिवार थियो। जो आफ्नो भविष्यका लागि उडान भरिरहेको छ। 

खलिल सर्बियामा थिए। उनका पिता अनि बहिनीहरू ग्रीसमै थिए। तर उनकी आमा भने कताकताबाट नेदरल्यान्ड्स पुगिसकेकी थिइन्। र त्यहाँ पुगेर शरणार्थीको परिचय पाउन सफल भइसकेकी थिइन्। त्यसको अर्थ अब उनको परिवार पनि उनीसँगै कानुनीरुपमा त्यहाँ रहन बस्न सक्ने भइसकेको थियो। तर परिवार साथमा थिएन। 

२०२३ को सेप्टेम्बर तिर उनलाई परिवारसँग भेट्ने अनुमति दिइयो। खलिल पनि केही महिनामै आफ्नो परिवार भेट्दै छन्। चार वर्षदेखि उनी आफ्नो परिवारसँग छुट्टिएर बसेका थिए। अब उनीहरूलाई सबैलाई नेदरल्यान्ड्सले कानुनीरुपमै शरणार्थीको दर्जा दिइसकेको थियो। 

अब खलिल कम्प्युटर प्रोग्रामिङ पढ्न चाहन्छन्। 

‘जिन्दगीले मलाई सधैं अघि बढ्न र बलियो आत्मविश्वास राख्न सिकाएको छ। अब म मेरै परिवारसँग शान्त जीवन बाँच्न चाहन्छु’ खलिल भन्छन् ‘युद्धबाट धेरै धेरै टाढा रहेर हामी हाम्रो जीवन बाँच्न चाहन्छौं।

प्रकाशित मिति: : 2024-06-22 08:36:00

प्रतिकृया दिनुहोस्