एकः
पाउ तिम्रा छेक्न सक्ने लाग्छ केही अल्झिएझैँ
फर्किएरै हेर्न थाल्यौ खुब मलाई पर्खिएझैँ
हेर्दछन् तस्बिर उचाली आँसु झार्दै बाबुआमा
कल्पनामा सोच्दछन् ती खुद छोरो नै भैदिएझैँ
देश छोड्दै छन् युवाले बस्दछन् अर्कै मुलुकमा
वृद्ध वृद्धा हेर्छ कसले छन् ती घरमा एक्लिएझैँ
बढ्छ श्रद्धाभित्र मनमा जानू मन्दिरको अगाडि
हात जोड्दा लाग्छ मनले फूलपाती अर्पिएझैँ
बाडुली झन् बढ्न थाल्यो कुक्क गर्दै एकोहोरो
लाग्छ आफ्नाले मलाई आजभोलि सम्झिएझैँ।
०००
दुईः
दुवै छिमेकीहरूको बिचमा सधैँ फसेको छ देश मेरो
ढुकेर दुश्मनले दाउ चल्दै निकै मिचेको छ देश मेरो
शिखर छ अग्लो छ ताल रारा जरीबुटी छन् अनेक वनमा
गुराँस फुल्दा मुसुक्क हाँस्दै सधैँ रमेको छ देश मेरो
छ तेल खानी पहाड खन्दा हुनेछ यो देश आत्मनिर्भर
निकाल्न दिन्नन् विदेशी आई सधैँ झुकेको छ देश मेरो
यहाँको माटो यहाँको ढुङ्गा सबै निकाल्छन् मिलेर तस्कर
जहाँ म हेर्दै छु माफियाले त्यहीँ लुटेको छ देश मेरो
विकास गर्छौँ भनेर आशा दिलायो जसले बोलाई जनता
भुलेछ उसले गरेको बाचा दुखी भएको छ देश मेरो।
बहर–जमिल मुसम्मन सालिम